सार्वभौमसत्ताको अवमूल्यन नगर्न इयूलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं, ११ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको अवमूल्यन नगर्न युरोपेली युनियनलाई चेतावनी दिएका छन् ।राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकको आईतबार​ काठमाडौंमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन प्रतिवेदन सार्वजनिक गर्दै उनले इयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको प्रतिवेदन सच्याउन आग्रह गरेका हुन् ।

इयूको प्रतिवेदनले आफू हेपिएको महसुस गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई अवमूल्यन नगर्न पनि इयूको ध्यानकर्षण गराएका छन् ।पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै ओलीले त्यसको प्रतिशोध इयूले प्रतिवेदन मार्फत् व्यक्त गरेको दाबी गरेका छन् ।

यसैबिच, नियोकले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ को पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ ।प्रधानमन्त्री ओली र प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले नियोकले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा आज काठमाडौंमा सार्वजनिक गरेका हुन् ।

नियोकले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित भएको निष्कर्ष निकालेको छ ।प्रतिवेदनमा निर्वाचनका क्रममा राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेको पनि उल्लेख गरिएको छ ।त्यसैगरी, नियोकले मतदाता मैत्री निर्वाचन क्यालेन्डर बनाउनुपर्ने, आचारसंहिता व्यावहारिक हुनुपर्ने र निर्वाचन खर्चमा पारदर्शीता कायम राख्न जोड दिएको छ ।निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने, निर्वाचनका क्रममा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई पनि मतदान गर्ने व्यवस्था गर्न प्रतिवेदनको सुझाव छ ।

कमेन्टहरु
Loading...