एकता र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढ्नुपर्ने माओवादीको निष्कर्ष

काठमाडौं, १८पुस /नेकपा माओवादी केन्द्रले पार्टी एकता र सरकार निर्माणको काम सँगसँगै अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार​​ पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्वाचन अघि नै पार्टी एकीकरणका लागि छलफल भइसकेकाले पार्टी एकीकरण र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।बैठकले सम्मानजनक रुपमा नेतृत्व र सैद्धान्तिक विषयलाई टुंग्याउने निर्णय गर्दै पार्टी एकताको विषयमा जोड दिएको छ ।

बैठकमा अध्यक्ष दाहालले मुख्य नेतृत्वको विषयमा कुरा मिलिनसेको र पार्टीको नेतृत्व आफूले पाउनुपर्ने पक्षमा अडान रहेको जानकारी गराएका थिए ।बैठकमा अध्यक्ष दाहालले एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको तर पछिल्ला तीन दिनदेखि अध्यक्ष ओली अस्वस्थ भएका कारण ठोस निष्कर्षमा पुगिनसकिएको जानकारी नेताहरुलाई गराएका छन् ।पार्टी एकताका लागि ओली र दाहालको पदीय जिम्मेवारी टुंगिएपछि बाँकी नेताहरुको जिम्मेवारी र सैद्धान्तिक पक्षलाई टुंग्याउन कार्यदल गठन गरिने भएको छ ।

बैठकले नेता तथा कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदल गठन गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिपय स्थानमा पार्टीभित्र भएको अन्तर्घातका विषयमा छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, एमालेले पनि एकताका लागि आन्तरिक गृहकार्य तीव्र बनाएको छ । अध्यक्ष ओलीको प्रत्यक्ष निर्देशन र सल्लाहमा दोस्रा तहका नेताहरुले सरकार र पार्टीको नेतृत्व, सैद्धान्तिक पक्ष र संगठनात्क ढाँचाबारे छलफल गरिरहेका छन् ।पार्टी एकता नागरिकबाटै अनुमोदन भइसकेकाले माओवादीलाई सम्मानजनक स्थन दिएर अघि बढ्न आफूहरु तयार रहेको सचिव योगेश भट्टराई बताए । एउटै घोषणापत्र बनाएर चुनाव लडेका एमाले र माओवादीले चुनावी परिणामसंगै सरकार गठन र पार्टी एकताको कुरालाई अघि बढाएका हुन् । तर एमाले पहिले सरकारको विषयलाई टुंग्याइहाल्ने हतारोमा देखिन्छ भने माओवादी केन्द्र पार्टी एकताको कुरालाई पनि गति दिनुपर्ने कुरामा बढी केन्द्रित देखिएको छ ।

कमेन्टहरु
Loading...