कास्की कांग्रेसको पहिलो चरणको चुनावी कार्यक्रम सार्वजनिक

पोखरा, २४ कात्तिक / नेपाली कांग्रेस कास्कीले चुनावको प्रचारप्रसार अन्तर्गत पहिलो चरणको कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

शुक्रबार क्षेत्रीय भेलामार्फत ३ हजार ५५१ सदस्यीय प्रचार समिति गठन गरेको कांग्रेसले शनिबारदेखि गर्ने पहिलो चरणको कार्यक्रम कार्यतालिका सार्वजनिक गरेको हो ।

जस अन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन प्रचार समितिको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । यो कार्यक्रम कास्की–२ भित्रका ११ वटै वटामा बिहान ८ बजे हुने निर्वाचन मूल प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।

सभापति केसीका अनुसार २४ गते आइतबार नै पोखरा–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ । घरदैलो अभियान यसैदिन पोखरा ८ र ९ मा समेत सञ्चालन हुनेछ । घरदैलो अभियानका लागि बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकमा सहभागी हुन कास्की कांग्रेसले आह्वान गरेको छ ।

कांग्रेसले पोखरा ४ मा पूर्वसभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, पोखरा ८ मा पूर्व महामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट र पोखरा ९ मा नेता वीरेन्द्रनारायण विजुक्छेलाई संयोजमक बनाएर खटाएको छ ।

यसैगरी कात्तिक २५ गते सोमबार पोखरा–७ स्थित पुष्पलाल पार्कमा भेला भई घरदैलो अभियानमा सहभागी हुने कार्यक्रम तय भएको सभापति केसीले बताए । उनले सोमबार बिहान ७ बजे सहभागी हुन आह्वान गरेका छन् । यस दिन दिनभर घरदैलो कार्यक्रम हुनेछ ।

कास्की कांग्रेसले पोखरा ७ मा पूर्वसभापति शुक्रराज शर्मालाई संयोजक बनाएर पठाएको छ ।
कात्तिक २६ र २७ गते अर्थात मंगलबार र बुधबार पनि घरदैलो कार्यक्रम नै हुने कास्की कांग्रेसले जनाएको छ । यी २ दिन पोखरा वडा नं. १७ मा घरदौलो अभियान सञ्चालन हुनेछ । पोखरा–१७ महानगरको सबैभन्दा ठूलो वडा हो । यस वडामा पार्टीको क्षेत्रीय भेलाले मूल संयोजक एवं पार्टी सभापति कृष्ण केसीलाई नै खटाएको छ ।

नेपाली कांग्रेसले कास्की क्षेत्र नंं. २ का नेता खेमराज पौडेललाई उम्मेवार बनाएको छ । बिहीबार पौडेलले उम्मेदवारी मनोनयन गरेसंगै चुनावी प्रचार अभियान तीव्र बनाइएको छ । उम्मेदवार पौडेलले ‘कम्युनिष्टलाई हेर्यौ पटकपटक, कांग्रेसलाई हेर यसपटक’ भनेर अघि बढेका छन् । उम्मेदवार पौडेलले पटक पटक कम्युनिष्टलाई भोट दिएर के पायौं भनेर आफैले आफैलाई प्रश्न गर्न आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...