कास्कीले रच्यो इतिहास–एउटै क्याविनेटमा दुई मन्त्री (यस्तो छ बास्तविक)

प्रकाश ढकाल
पोखरा, ३ चैत /लामो समयपछि कास्कीको राजनीति केन्द्रमा लयमा फर्किएको छ । ७० को दशक लागेपछि कास्कीमा निरन्तर मन्त्री थपिएका छन् । त्यसो त पहिले पनि कास्कीको राष्ट्रिय पहुँच खासै बलियो होईन । तर पछिल्लो समय पहुँच विस्तारमा निरन्तर लागिरहेको छ कास्की ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा एमाले नेता खगराज अधिकारी बनेपछि यहाँको पहुँच लगातार उचाईमा छ । त्यसपछि तत्कालीन अखण्ड नेपालका अध्यक्ष कुमार खड्का महिला तथा बालबालिका मन्त्री बने । यहाँको मन्त्री यतिमा मात्रै सीमित भएन कानुन मन्त्री बन्ने मौका पाए काँग्रेस नेता यज्ञबहादुर थापाले । त्यसअघि काँग्रेसका नेता तारानाथ रानाभाट कानुनमन्त्री बनेका थिए । उनी सभामुख सम्म बन्न भ्याए । बलियो मन्त्री कास्कीबाट हालसम्म ४ जना बनिसके भने २ जना अहिले थपिएका छन् ।

एकैपटक एउटै क्याविनेटमा दुईवटा मन्त्री बन्नेपनि कास्कीको नयाँ इतिहास हो । राष्ट्रिय राजनीतिक आन्दोलनमा कास्कीको भूमिका उल्लेख्य छैन । संसद्, सरकार राजनीतिक दलको नेतृत्वमा अपेक्षाकृत उपस्थिति देखिँदैन । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा कास्कीको उपस्थिति, २०४६ को आन्दोलनमा यहाँको सक्रियता र २०६२र०६३ सम्म कास्की राजनीतिक आन्दोलनमा अग्रणी रहे पनि सरकारमा यहाँको उपस्थिति नगण्य देखियो ।

पश्चिमाञ्चल क्षेत्रको सदरमुकाम होस् वा संघीयतापछि प्रदेश नम्बर ४ को केन्द्र पोखरा हरेक राजनीतिक आन्दोलन र परिवर्तनमा सक्रिय एवं मननयोग्य भए पनि मुलुकको कार्यकारी अधिकार प्राप्त गर्ने निकाय मन्त्रिपरिषद्, राजनीतिक दलको नेतृत्व, सरकारी निकायमा उल्लेख्य देखिँदैन । केही अपवाद्बाहेद संसद सदस्यको हैशियतभन्दा माथि उठ्न सकेको छैन, कास्की ।

त्यस्तै, तीन दशकयता गठन भएका सरकारमा काँग्रेसको तर्फबाट महादेव गुरुङ र प्रकाश गुरुङ क्रमशः राज्यमन्त्री र सहायकमन्त्री बने । एमालेबाट उद्योगपति समेत रहेका हरि पाण्डे तथा तुलबहादुर गुरुङ राज्य र सहायकस्तरको मन्त्री बनेका थिए । हुन त कास्कीको ढिकुरपोखरी जन्मिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पनि हुन् । यही सूचीमा नयाँ अनुहार थपिएका छन् । एमाले नेता द्धय रवीन्द्र अधिकारी पर्यटन मन्त्री बने भने अर्का नेता जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् । दुवैजनाले शुक्रबार शपथ लिए । दुई मन्त्री एउटै क्याविनेटमा परेपछि कस्केली यतिबेला हर्षित छन् ।

कमेन्टहरु
Loading...