जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार—कुँवर

पोखरा, २५ बैशाख /नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवार रामजी कुँवरले जेष्ठ नागरिकलाई निुशल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका १७मा आयोजित चुनावी सभामा बोल्दै मेयरका उम्मेदवार कुँवरले जेष्ठ नागरिक स्वास्थ्य उपचारको लागि दायित्व आफनो काँधमा लिने उदघोष गरे ।

‘आर्थिक दुराबस्थाको कारण जेष्ठ नागरिक स्वास्थ्य उपचारबाट बन्चित हुनुहुदैन् भन्ने हाम्रो ध्येय हो ।’ उनले भने—‘निशुल्क उपचारको लागि काँग्रेसले अभियान शुरु गर्ने छ ।’ उनले काँग्रेसले जितेको अवस्थामा यो अभियानलाई सयदिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।
उनले जेष्ठ नागरिकको लागि पब्लिक बसको समेत व्यवस्था गर्ने सुनाए ।

‘पब्लिक बस मार्फत निशुल्क सेवा उपलब्ध गराउने हाम्रो एजेण्डा छ ।’ उनले भने—‘यो एजेण्डा कार्यान्वयन ल्याउनको लागि काँग्रेसलाई जित आवश्यक छ ।’ उपमेयर उम्मेदवार सरस्वती गुरुङले नेपाली काँग्रेस सबैको साझा पार्टी भएको उल्लेख गर्दै काँग्रेसको जितको हकदार बन्न सबैलाई आग्रह गरिन् ।

‘एजेण्डालाई कार्यान्वयन गर्छौ ।’ उनले भनिन—‘त्यसको लागि तपाईहरुको साथ र सहयोग अपरिहार्य छ ।’ एकसातापछि हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसले घरदैलो अभियानलाई निरन्तरता दिएको छ । विहानी झरीको समयमा पनि चुनावी सभामा सहभागि हुदैं घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

प्रत्येक पोखरा लेखनाथ महानगरपालिकाको वडाहरुमा स्थानीयबासीसँग मेयरका उम्मेदवार रामजी कुँवर तथा उपमेयर उम्मेदवार सरस्वती गुरुङले साक्षात्कार गरिरहेका छन् । स्थानीय बासिन्दाको आवाजलाई आफनो एजेण्डामा समाहित गर्दै पुरा गर्ने दायित्व र जिम्मेवारी समेत उम्मेदवारले लिएका छन् ।

कमेन्टहरु
Loading...