हारजित जनताको हातमाः थापा

पोखरा, २६ कात्तिक/चुनाव प्रचारप्रसारका लागि जनताको घरदैलोमा पुगेका कास्की क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापाले जनताकै हितमा काम गर्ने उम्मेद्वार विजय हुने बताएका छन् । प्रचारप्रसारका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ पुगेका थापाले जनताले आफूलाई भोट दिएर विजयी बनाउने विश्वास प्रकट गरे । ‘जसले काम गर्छ, जनताले उसैलाई भोट दिन्छन्,’ उनले भने, ‘हारजित जनताकै हातमा हुन्छ ।’

वाम गठवन्धनलाई जनताले स्वागत गरेकाले जित सुनिश्चित रहेको उल्लेख गरे । ‘वाम गठवन्धनमा जनतालाई पूर्ण विश्वास छ,’ उनले भने, ‘राजनीतिक अस्थिरतालाई यही गठवन्धनले पार लगाउनेछ ।’ विगतमा आफ्नो पार्टीले गरेको कामको मूल्यांकन गरी जनताले साथ दिएको उनको भनाइ छ । ‘हामी काममा विश्वास गर्छौै,’ उनले थपे, ‘कास्कीमा स्थानीय चुनावले नै देखाएको छ कि जनता कसको पक्षमा छन् ।’

उनको प्रदेश निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका वडा नम्बर ७, १५, १७, २१ र ३३ छन् । जस अन्तर्गत वडा नम्बर ७ मा आइतबार घरदैलो भएको थापाका सहयोगी रामराज पौडेलले बताए । आइतबार मासबार, रत्नचोक, जनप्रिय टोल, राष्ट्र बैक चोक हँदै मुस्ताङ चोक लगायतका ठाँउमा घरदौलो कार्यक्रम गरिएको हो ।

आइतबार नै भूपू प्रहरी तथा सैनिक संगठन पोखरा–१७ को बैठक बसेको छ । बैठकले वाम गठवन्धनका उम्मेदवारलाई जिताउन परिचालित हुने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटी कास्की २ प्रदेश १ कार्यालय व्यवस्थापन संयोजक हीरा गिरीले जानकारी दिइन् । संगठनका अध्यक्ष प्रेमबहादुर पराजुलीको अध्यक्षतामा बैठक भएको हो ।

कमेन्टहरु
Loading...