ईयूद्वारा चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन सच्याउन अस्वीकार

काठमाडौं, ९चैत/युरोपियन युनियन ईयूको चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदनलाई सच्याउन अस्वीकार गरेको छ । नेपालमा भएका चुनावको पर्यवेक्षण सम्बन्धी प्रतिवेदन अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको दावी गर्दै इयुले प्रतिवेदन सच्याउन अस्वीकार गरेको हो । ईयूका पर्यवेक्षण मिसनले गएको सोमबार चुनावमा गरिएको आरक्षण सुविधा, निर्वाचन आयोगको कामकारबाही, आचारसंहिता लगायतमा खोट देखाउँदै सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा ईयूले समानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्यलाई आरक्षण सिट दिन नहुने भनेको थियो । इयुको यो प्रतिवेदनको सर्वत्र आलोचना भएपछि सरकारले ईयूलाई आफ्नो प्रतिवेदन सच्याउन आग्रह गरेको छ । निर्वाचन आयोगले पनि ईयूको चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन बुझ्न अस्वीकार गरेको छ । तर ईयूले आज पत्रिकार सम्मेलन गरेर इयुको चुनाव पर्यवेक्षण सम्बन्धी मिसनले आफ्नो प्रतिवेदन पूर्णतया अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारिएको दावी गरेको हो ।

मिसनले प्रतिवेदन तयार गर्दा आफ्ना सर्तहरु पूर्ण रुपमा पालना गरेको जनाएको छ । साथै प्रमुख पर्यवेक्षकका रुपमा नेपालका अधिकारीहरुसँग भएको सम्झौताको आधारमा नै प्रतिवेदन तयार पारिएको मिसनले निकालेको विज्ञप्तिमा उल्लेख छ । मिसनले नेपालको कानुनी सिमाहरुका बारेमा निर्णय गर्ने अधिकार स्वयम् नेपाल र नेपालीकै हातमा रहेको उल्लेख गर्दै प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरुलाई नेपाली पक्षले नै पुनर्विचार गर्नुपर्ने पनि जनाएको छ ।

कमेन्टहरु
Loading...