मादी गाउँपालिकाबाट काँग्रेसको चुनावी अभियान

सिक्लेस, १० चैत/ करिव दुई दशकपछि हुन लागेको स्थानीय चुनावलाई लक्षित गरि नेपाली काँग्रेस कास्की क्षेत्र १ ले मादी गाउँपालिका वडा नम्बर १ बाट चुनावी कार्यक्रम थालेको छ । भेलामा कास्की काँग्रेसका सभापति कृष्ण केसीले मादी गाउँपालिकामा कुनै हालतमा पार्टीले जित्ने दाबी गरे। काँग्रेस जनताको पार्टी हो, गाउँ गाउँमा, मेलापातमा जनतासगै हिड्ने र मिल्ने पार्टी काँग्रेस नै हो उनले भने–‘ झिँगाले सराप्दैमा डिंगा मर्दैन।’

ठुलो दल भएकोले अन्य पार्टीले गाली गलौज गर्दैमा काँग्रेसलाई कुनै फरक नपर्ने उनको भनाई छ। काँग्रेस क्षेत्र नं १ कास्की सभापति बिर्जमान गुरुङले काँग्रेसले गरेको योगदानका कारण नै मादी गाउँपालिका र सबै वडाहरुमा काँग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने उल्लेख गरे।

भेलामा क्षेत्रीय प्रतिनिधि देवीजंग गुरुङले काँग्रेसले मादी गाउँपालिका वडा नम्बर १ मा गरेका विकास निर्माण र योजनाका बारेमा जानकारी दिएका थिए। काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बिर्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम श्रेष्ठले गरेका थिए।

जिल्ला कार्यसमिति कास्कीको चैत्र ६ गते बैठकले क्षेत्र, नगर र वडामार्फत चुनावी अभियान शुरु गर्ने निर्णय गरेको थियो।
अब कास्की काँग्रेस निर्वाचनमा केन्द्रंीत हुन्छ कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले भने – ‘चुनावी अभियानमा जनता कुरा सुन्ने र पार्टीको तर्फबाट आफ्ना भनाई राख्ने काम हुनेछ।’

भेलामा साबिक पार्चे गाविस वडा नम्बर १ देखि ९ सम्मका आमा समूहलाई काँग्रेस महाधिवेशन प्रतिनिधि बुद्दिमान गुरुङले नगद एक लाख रुपैया सहयोग गरेका छन्। उनले भौतिक संरचना निर्माणको लागि उक्त सहयोग गरेका हुन्।

कमेन्टहरु
Loading...