असन्तुष्ट मोर्चालाई चुनावमा सहभागी गराउने प्रयास आज पनि

काठमाण्डौ ३१ भदौ । राष्ट्रपति डा. रामवरण यादवले दुई पटक सर्वदलिय बैठक बोलाएर दलहरुलाई सहमति जुटाउन दवाब दिएपनि सहमति नभएपछि आजपनि दुईपक्षिय छलफल हुने भएको छ । दिउसो २ बजे मुख्य चार दल र असन्तुष्ट नेकपा माओवादीवीच नयाँवानेश्वरमा छलफल हुने एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

अन्तरीम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसंग पनि दलहरुले भेटेर परामर्श गर्ने तयारी गरेका छन् । तर भेटवार्ताका समय भने तय भएको छैन । नेकपा माओवादीले मुख्य चारसंग छलफल गर्नुअघि आफ्नो मोर्चामा सहभागी दलहरुसंग आन्तरिक छलफल गर्ने जनाएको छ । आफ्नो माग बारे थप छलफल गरेर मुख्य चारदलसंग सहमति जुटाउने गरि बैठकमा प्रस्तुत हुने नेकपा माओवादीका सचिव देव गुरुङले बताए । गएराति अबेर सकिएको राष्ट्रपति निवासको सर्वदलिय बैठकलाई सकरात्मक भनेका दलहरुले आज आपसमै छलफल गरेर टुङगो लाग्ने बिषय बारे राष्ट्रपतिलाई जानकारी गराउने बताएका छन् ।

१८ बुदाँको माग राखेर उच्चस्तरिय राजनितिक समिति र सरकारसंग चुनावमा सहभागी हुनका लागि वार्गेनिङ गरिरहेको नेकपा माओवादी नेतृत्वको मोर्चाले आफ्नो मागलाई चार बुदाँमा झारेपनि चुनावमा सहभागी हुने प्रतिबद्धता अझै सम्म जनाएको छैन । चुनावी प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने न्युनतम समय लिएर पनि चुनावमा जान तयार देखिएको नेकपा माओवादी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधीस पदबाट राजिनामा दिनुपर्ने मागमा अडीएको छ ।

कमेन्टहरु
Loading...