सबै वडा महानगर जस्ता बनाउँछौंः विद्या

पोखरा, ७ मंसिर/ नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासको सारथि बन्ने प्रतिबद्धता गरेकी छन् । पोखरा २० भलाममा शनिबार घरदैलो र कोणसभामा उनले गएको चुनावबाट नेकपा नेतृत्वका ३ तहकै सरकारले थालेका काम चाडै सक्न र नयाँ योजना ल्याएर पोखरालाई अत्याधुनिक र स्मार्ट सहर बनाउने प्रतिवद्धता गरिन् ।

महिला हकअधिकार संरक्षण सँगसँगै युवाको सीप र ऊर्जा देशमै लगाएर समृद्ध नेपाल बनाउन अगुवाइ गर्ने उनले जनाइन् । घरदैलोअघि विद्याले स्थानीय थानापती मन्दिरमा पूजा अर्चनासमेत गरिन् । उनले भनिन्, ‘हामी सबै धर्म र संस्कृतिलाई सँधै सम्मान गर्छाैं । सँगसँगै सांस्कृतिक रुपान्तरण र सभ्य समाज निर्माणको नेतृत्व पनि गर्छाैं ।’

पोखरा महानगरमा पछि थपिएको साबिक भलामका मतदातासँग उनले महानगरका पूर्वाधार र सेवा चाडै उपलब्ध गराउने आश्वासन दिइन् । भलाममा सडक, खानेपानी लगायतका धेरै योजना विभिन्न तहका सरकारको बजेटमा बनिरहेका छन् ।

पोखरा २० का चुनावी कामन्डर विश्वप्रकाश लामिछानेले केन्द्रको बजेटबाट भलाम चण्डी पुल बनेको र मणिपाल भलाम बाटुलेचौर सडकको बोलपत्र निस्कने क्रममा रहेको जनाए । उनलेगण्डकी प्रदेशले थानापति शिवालय दूधपोखरी मौजा सडक निर्माण र एग्रेघारी, विचारपानी, कुनाखेत, आँटीघर खानेपानी आयोजनाका लागि बजेट विनियोजन गरेको जनाउँदै चाडै यहाँ बासिन्दा खानेपानी सहज रुपमा पाउने बताए ।

उनले पोखरा महानगरले यहाँ बनाउन लागेको हाइ अल्टिच्युड खेल मैदानको डिपिआर बनिसकेको जानकारी दिँदै एक्ले खेत र आगेटारीमा बस्ती संरक्षण मौजा, आँटीघर र डाँडागाउँमा गाउँघर क्लिनिक सञ्चालनमा आएको जनाए ।

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने जनाए । नेकपा केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङले संस्कृतिमन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण थालेको जनाए ।

नेता रवीन्द्रको इच्छा अनुसार नै सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको उल्लेख गर्दै नेता करणले रुपान्तरणलाई स्वीकार गर्न नसकी राजनीतिकरण गर्नेहरु सभ्य नागरिक हुनै नसक्ने तर्क गरे ।

नेता गुरुङले भने, ‘संस्कृति सहज, सरल र वैज्ञानिक बनाउनु हाम्रो कर्तव्य हो । यसलाई जनताले बुझेका छन् ।’ संस्कृति जटिल हुँदा संस्कृतिप्रति वितृष्ण जाग्ने भएकाले युगानुकूल संस्कृति बनाउनु पनि नेतृत्वकर्ताकै दायित्व भएको उनले बताए । भलाममा भएको कार्यक्रममा राप्रपा जिल्ला सदस्यद्वय कृष्णबहादुर कार्की र रमणबहादुर कार्की लगायत नेकपा प्रवेश गरेका छन् ।

कमेन्टहरु
Loading...