देशको अर्थतन्त्र माफिया, ठेकेदार र तस्करको हातमा छः गृहमन्त्री थापा

पोखरा, ३१ वैशाख/गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र माफिया, ठेकेदार र तस्करहरुको हातमा भएको बताएका छन् । गृहमन्त्री थापाले अर्थतन्त्रलाई बढाउन माफिया, ठेकेदार र तस्करहरुको कालो बजारीको अन्य गर्न आवश्यक रहेको बताए ।

प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार समेलनमा थापाले माफिया, ठेकेदार र तस्करहरुबाट उद्योगी र व्यवसायीहरुलाई छुटकारा दिन आवश्यक रहेको बताए । उनले आर्थिक क्षेत्रमा अनियमिता, तस्करी, कालो बजारीले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर पारेको बताए ।

देशमा मुठीभरको वर्चश्व रहेको भन्दै उनले आर्थिक समृद्धिको बाधक त्यही भएको बताए । हरेक क्षेत्रको एकाधिकार नतोडी समृद्धि सम्भव नभएको उनको भनाई थियो । ‘सबै क्षेत्रमा एकाधिकार र कालोबजारीया छ,’ थापाले भने, ‘त्यसको अन्त्यविना देशको विकास सम्भव छैन ।’ विकासको अर्को वाधक लागूपदार्थ रहेको उनले बताए । लागू पदार्थको करोबारले देशका कर्णधारहरुको भविष्य युवा अवस्थामा नै दलदलमा फस्दै गएको उनको भनाई थियो ।

स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्न उनले बताए । राजनीतिक, जातिय, क्षेत्रिय, धार्मिक आवरणमा हिंसा भड्काउने समूहलाई नियन्त्रण गर्ने, निस्तेज पार्ने उनले बताए । ‘नेपाल बन्दलगायत ध्वंसात्मक काम गर्ने, संविधान र कानुन विपरीत काम काम गर्नेलाई निस्तेज पार्ने कठोर कदम चाल्ने छौ,’ विप्लव माओवादीप्रति संकेत गर्दै उनले भने, ‘कठोरतापूर्वका संविधान र कानुनको दायरामा ल्याउने छौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला उठेको स्वतन्त्र मधेसको ब्यानर देखिएकोप्रति संकेत गर्दै थापाले अलग देश र विखन्डन गर्ने कसैलाई छुट सविधानमा नभएको बताए । उनले विकास, शान्ति सुरक्षा र महिला सुरक्षामा बाधा पु¥याउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताए ।

उनले सबैखाले सिन्डिकेटको अन्त्य गर्न सरकार लागि परेको बताए । यातायात समितिको खातामा रहेको सबै रकम अब सरकारको भएको थापाको भनाई थियो । रकमलाई नीति बनाए बिमा, सुरक्षा र क्षतिपूर्ति दिन प्रयोग गर्ने बताए । थापाले मदिराको नियन्त्रण र व्यवस्थापन गर्न गृहमन्त्रालयले निती बनाउने बताए ।

कमेन्टहरु
Loading...