बाहिर राष्ट्रबाद पिट्ने, भित्रभित्र डरले लत्रक्क पर्ने चरित्र ओलीमा छः डा. भट्टराई

पोखरा, ८ मंसिर /समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद शिवाय अन्य केही नभएको बताएका छन् । समाजवादी पार्टीको चुनावी सभालाई पोखरामा आज सम्बोधन गर्दै नेता भट्टराईले त्यसबेलाका महेन्द्र देखि अहिले केपी ओलीले भित्रभित्र विदेशी शक्तिसँग मिलेर देशको भूमि सुम्पिने काम गरेको आरोप लगाए ।

उनले आलीले बाहिर राष्ट्र ठूलो डंका पिट्ने र भित्रभित्र भने सत्ताको डरले लत्रक्क पर्ने चरित्र ओलीमा रहेको बताए । ओलीले सीमा सुरक्षाको विषयमा कसैले थाहा नपाउने गरी ‘डिप्लोमटिक नोट’ (कर्मचारीले लेख्ने नोट) मात्र लेखेको र त्यो बाहेक अन्य राजनीतिक पहल नगरेको डा. भट्टराईले बताए ।

उनले सीमा अतिक्रमण विषयमा कर्मचारी संयन्त्रबाट नभै प्रधानमन्त्रीस्तरबाटै हल गर्न सुझाव दिए । उनले नेकपा र काँग्रेस फेल भइसकेको र तिनीहरुको विकल्प समाजवादी पार्टीमात्र भएको दाबी गरे । उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकार र सदनमा संघर्ष गरिरहेको बताए ।

समाजवादी पार्टीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकलाई कमिसनखोर र अपराधीको संरक्षणमा सरकार लागेको आरोप लगाए । समाजवादी पार्टीका कास्की २ का उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङले आफूले भाषणभन्दा काममा विश्वास बताए ।

कमेन्टहरु
Loading...