तमु साँस्कृतिक प्रतिष्ठानद्धारा विद्यार्थी पुरस्कृत, सम्मान तथा अभिनन्दन

पोखरा, २२ माघ/उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपालले एक समारोहका विच एसएलसीमा नेपालमै उत्कृष्ठ अंक प्राप्त गरेका पाँच जना तमु विद्यार्थीलाई पुरस्कृत, चार विशिष्ट महानुभाव तथा संस्थालाई सम्मान र विभिन्न विधाका पाँच व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान र प्रा.डा.जगमान तमुलाई अभिनन्दन गरेको छ ।प्रतिष्ठानले पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एक विशेष कार्यक्रम आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई पुरस्कार, विशिष्टहरुलार्य सम्मान तथा अभिनन्दन गरेको हो ।

पुरस्कृत हुने विद्यार्थीहरुमा सामुदायिक विद्यालयतर्फबाट भक्तपुर आदर्श उच्चमाविकी कविता तमु र दुर्गा मावि चितवनका विजय तमु, निजी विद्यालयतर्फका सर्वोत्कृष्ठ अंक प्राप्त गरेकी गण्डकी आवाशीय उच्चमावि पोखराका दक्षिणा तमु, ललितपुर मुनलाइट माविका कृपा तमु र ज्योतिकुञ्ज सेकेण्डरी बोर्डिङ पोखराका दिनेश तमुलाई नगद १५ हजार सहित सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अतिथी प्राडा वीरेन्द्र सिंह तमु, प्राडा जगमान तमु, शिक्षविद गणेबहादुर तमु, प्रतिष्ठानका अध्यक्ष झम तमु लगायतले पुरस्कृत गर्नुभएको हो ।

पुरस्कृत विद्यार्थी दक्षिणा तमु र विजय तमुले पुरस्कारले आफुहरुलाई थप अध्ययन गर्ने प्रोत्साहन मिलेको मन्तव्य व्यक्त गर्दै तमु साँस्कृतिक प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा लोक सँस्कृति विधामा पहिलोपटक क्या.मिनबहादुर स्मृति पुरस्कारबाट घाँटु गुरु तिलकबहादुर तमुलाई ५० हजार एक रुपैया सहित सम्मान पत्र गरिएको थियो ।

यसैगरी पार्वता तमु स्मृति पुरस्कारबाट १० हजार रुपैया सहित केशबहादुर तमुलाई सम्मान, समाजसेवी विधामा तमु साँस्कृतिक प्रतिष्ठान पुरस्कारबाट तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, सामाजिक क्षेत्रमा तमु साँस्कृतिक प्रतिष्ठान पुरस्कारबाट तमु धिं युके एशोसियसनलाई पुरस्कृत गरिने भएको छ भने बहुआयामिक व्यक्तित्वको रुपमा प्रा.डा. जगमान तमुलाई अभिनन्दन पत्र सहित खादा, भाङ्ग्रा लगायतले प्रमुख अतिथी प्राडा वीरेन्द्रसिंह तमुले अभिनन्दन गर्नुभयो ।

अभिनन्दित प्राडा जगमान तमुले तमुहरु विगतमा विभेदमा परेका जात होइनन, शासकहरु हुन् । पञ्चायतकाल र बहुदलमा विभेदमा पारियो, अहिले गणतन्त्रमा पहिचान नै हटेको बताउनुहुदै तमुवान स्थापना जुगको माग हो भन्नुभयो । उहाँले जडसुत्रवादी चिन्तन र भोटे सँस्कृतिबाट तमुहरुमा विचलन आएको दावी गर्नुहुदै मध्यमार्गी मार्गबाट तमुहरु अघी बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी प्राडा वीरेन्द्रसिंह तमुले तमुहरुलाई मुलुकको मुलधार प्रवेश गराउनु पर्नेमा जोड दिनुहुदै शिक्षा र चेतनाबाटै राज्यको निर्णायक तहमा पुग्न सकिने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष झम तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं युकेका अध्यक्ष कमल तमु, अध्यक्ष मुछेत्र तमु, सम्मानित तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, हिमाल तमुआदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमु धिं नेदरल्याण्डका खेमबहादुर तमु(राजु), प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष चिजकाजी तमु, सचिव चित्रहादुर तमु, कोषाध्यक्ष श्रीजंग तमु लगायतले बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...