भद्रकाली लायन्सद्वारा आश्रमलाई सोलार प्रदान

पोखरा, ४ पुस कास्कीको भलाममा रहेको हरिहर गुफा सन्यास आश्रमलाई लायन्स क्लब अफ पोखरा भद्रकाली र नेपाल इन्स्योरेन्सको संयुक्त पहलमा सोलार प्रदान गरिएको छ । आश्रममा बुधबार आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब अफ पोखरा भद्रकालीका अध्यक्ष दिपकराज तिवारीले आश्रममा प्रमुख सल्लाहकार त्रिलोचन पौडेललाई सोलार हस्तान्तरण गरेका हुन् । ‘सेवा गरौं’ भन्ने भावनाबाट प्रेरित लायन्सले आश्रममा आउने पाहुन तथा त्यहाँ रहेका वृ्द्धवृद्धाको सजिलोको लागि छ वटा बल्ब बल्ने उक्त सोलार प्रदान गरेको हो ।

solarकरिब १५ हजार मूल्य बराबरको सोलार बुधबार नै जडान गरेर बाल्न थालिएको छ । सो अवसरमा बोल्दै आश्रमका सल्लाहकार पौडेलले राणाकालमा स्थापना भएको आश्रममा हाल पञ्चयज्ञ संचालन भइरहेको र दाताहरुकै सहयोगबाट संचालन हुँदै आएको जानकारी दिए । आश्रममा हाल आठजना वृद्धाहरु सन्यासी जिवन बिताउँदै आएका छन् । बालाचतुर्दशी, शिवरात्री जस्ता पर्वहरुमा अन्न, नगद र अन्य सहयोग संकलन हुने गरेको उनले बताए । बालाचतुर्दशीमा मात्र अन्न वाहेक छ लाख रुपैयाँ संकलन भएको जानकारी पौडेलले दिए ।

लोडसेडिङको बेलामा बत्ती नहुँदा साधकसाधिकालाई समस्या पर्ने गरेकोमा अब भने सो समस्या हल भएको भन्दै उनले क्लबलाई आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे । कार्यक्रममा क्लबका अध्यक्ष तिवारीले आध्यात्मिक केन्द्रंमा आएर सहयोग गर्न पाउँला निकै आनन्द महशुस भएको बताए । सो अवसरमा क्बलका निवर्तमान अध्यक्ष बुद्धिराज बराल, कार्यक्रम संयोजक तथा द्वित्तीय उपाध्यक्ष खुबबहादुर बराल, तृतीय उपाध्यक्ष कल्याणकुमार ढेजाजू, आश्रमका कार्यवाहक उपाध्यक्ष विष्णुबहादुर खत्रीलगायतले क्लब र आश्रमका बारेमा बोलेका थिए ।

क्लबका तृतीय उपाध्यक्ष ढेवाजूले ब्यक्तिगत तर्फबाट आश्रमलाई एक हजार रुपैयाँ समेत प्रदान गरेका छन् । कार्यक्रममा नेपाल इन्स्योरेन्स पोखरा शाखाका प्रवन्धक चन्द्रनाथ उप्रेती, क्लबका कोषाध्यक्ष कृष्ण ढकाल, निर्देशक भरत कोइराला, नेपाल बैंक लिमिटेड पोखरा शाखाका प्रवन्धक सुशील नेपाललगायत सहभागी थिए ।

कमेन्टहरु
Loading...