लुतोजस्तै हराउन थाल्यो साउने संक्रान्तिको महत्व

१ साउन, काठमाडौं । साउन लागेलगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहल-पहल देखिन्छ । पछिल्ला वर्षहरुमा साना बालिका र किशोरीहरु समेत मेहन्दी र रातो वस्त्र लगाएर साउने व्रत बस्ने गरेका छन् । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ ।

साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविद प्राध्यापक श्रीकृष्ण अधिकारीले भन्नुभयो-’शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’ पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई पा्रप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।

‘यो महिना व्रत बसी शिवको पूजा गर्नाले आफ्नो, श्रीमानको, सन्तानको र परिवारका सबैको कल्याण हुने धार्मिक विश्वास छ’ अधिकारीले भन्नुभयो । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो’ संस्कृतिविद अधिकारीले भन्नुभयो ।

चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । ‘मेहन्दी लगाउने चलन चाहिँ छिमेकी देश भारतबाट भित्रिएको हो’ अधिकारीले भन्नुभयो ।

लुतो फाल्ने चलन हराउँदै

साउने संक्रान्तिको साँझमा घरघरबाट नाङ्लो ठटाउँदै र होहल्ला गर्दै लुतो फाल्ने चलन पछिल्ला वर्षहरुमा भने विस्तारै हराउन थालेको छ । कृषि प्रधान देश नेपालमा असारभरी खेतमा काम गरेको हिलो पखालेर घाउ, खटिरा, दाद, लुतो भगाउने प्रचलन अनुसार साउने संक्रान्तिमा लुतो फाल्दै भोज खाने चलन बसेको हो । औषधीय वनस्पति भलायो, कुरिलो, कुकुरडाइनो, पानीसरो तथा निबुवा, कागती, अम्बाको साथमा राँको र अगुल्टो फालेर लुतो भगाउने चलन छ ।

पहिले पहिले खेतमा काम गरेपछि धेरैलाई साँच्चिकै लुतो आउँथ्यो । तर हिजोआज अलि सचेत हुने बानी बसेकाले लुतो र घाउखटिराको संकक्रमण घट्दै गएको छ । ‘लुतो फाल्ने दिन एउटा छुट्टै उत्सव हुन्थ्यो, हामी लुतो कनाउँदै अगुल्टो र राँको फाल्ने गथ्र्यौं’ पाका पत्रकार भैरव रिसालले अनलाइनखबरसित भन्नुभयो-’अहिले त्यो चलन नै हराउन थालेको छ ।’
आँगनको छेउमा उभिएर लुतो लैजा है फलाने भनेर कराउँदै अगुल्टो र राँको हुत्याउँदा छुट्टै रमाइलो र रौनक छाउँछ । कतिले त मन नपरेको छिमेकीको नाम नै भनेर लुतो लैजा है फलाने पनि भन्ने गर्छन् । ‘जे होस् लुतो फाल्ने चलन पनि मनोरञ्जनको एउटा पाटो थियो’ पत्रकार रिसालले भन्नुभयो-’विकृति पन्छाउँदै लुतो फाल्ने संस्कृतिलाई पनि संरक्षण गर्नु आवश्यक छ ।’

 

कमेन्टहरु
Loading...