नाटक अनि पोखरा

रेम बिक/ ‘नाटक हेर्नका लागी पोखरा जानुपर्छ’, ४० को दशकमा देशका विभिन्न स्थानमा यस्तै चर्चा चल्थ्यो । ‘त्यो ताका पोखरामा नाटक खुब मञ्चन हुन्थे । करिब ५ सयको हाराहारीमा रंगकर्मीहरु क्रियाशिल थिए । नाटक हेर्नका लागी खुब भीड लाग्थ्यो । ब्ल्याकमा टिकट विक्रि हुन्थे ।’ चालिसको दशकदेखि पोखरामा नाट्यकर्म शुरु गरेका कृष्ण उदासी सम्झन्छन्–‘एक हिसाबले भन्ने हो भने तीस र चालिसको दशक पोखरेली रंमञ्चको स्वर्णकाल हो ।’

पोखरामा रंगमञ्चको ईतिहास पुरानै हो । नेपाली रंगमञ्चको शुरुवात नै लोकनाट्य परम्पराबाट शुरु भएको हो । पोखरेली रंगमञ्चको ईतिहास पनि यसैसंग जोडिएको छ । टोल टोलमा नाचिने घाटु, भैरव नाच जस्ता धार्मिक र साँस्कृतिक क्रियाकलाप नै पोखरेली नाटकको जग हुन् । विक्रम सम्वत् २००६ साल पुर्वसम्म पोखरामा परम्परित लोकनाट्यको परम्परा रहेको पाईन्छ । पोखरालाई साँस्कृति धरोहर बनाउने काम पनि लोकनाट्य परम्पराले नै गरेको सँस्कृतिविद्हरु बताउँछन् ।

२००६ सालपछि भने धनविक्रम राणाको क्रियाशिलतामा पोखरामा आधुनिक रंगकर्मको शुरुवात भएको पुराना रंगकर्मीहरु बताउँछन् । तर पोखरेली रंगमञ्चको व्यापकता ३० को दशकमा आएर मात्रै भयो । यसले राष्ट्रिय रुप लियो । ३० को दशकमा पोखरामा मात्रै सिमित रहेको पोखरेली रंगमञ्चलाई राष्ट्रियस्तरमा पु¥याउने श्रेय भने डाँफे कला मन्दीरलाई जान्छ । तत्कालिन समयमा काठमाण्डौमा हुने राष्ट्रिय नाटक महोत्सवमा ‘मातृभुमीको व्यथा’ भन्ने नाटक मञ्चन गरेर कला मन्दीरले पोखरेली नाटकलाई राष्ट्रियस्तरसम्म पु¥यायो । यो नाटकले तत्कालिन समयमा उत्कृष्ट नाटकको अवार्ड समेत हात पार्न सफल भयो ।

त्यसपछि पोखरेली नाटकलाई अझै विस्तारित बनाउने श्रेय भने सरुभक्तलाई जान्छ । सरुभक्तको चिनारी विशेषगरि नाटक लेखनमा बढि छ । यद्यपी ४० को दशकको शुरुवातमा सरुभक्त नाटक लेखन, निर्देशन र अभिनयबाट पनि पोखरासंगै राष्ट्रियस्तरमा लोकप्रिय थिए । शुरुवाती समयमा नाटकको सबै पक्षमा निपुण देखिएपनि पछिल्ला समयमा सरुभक्त लेखनमा बढि व्यस्त भए भने उनका नाटकहरुलाई अनुप बरालले निर्देशन गरे । ४० को दशकमा त पोखरामा नाटक गर्नकै लागी दर्जनौँ नाट्यमण्डलीहरु गठन भए ।

पचासको दशकको शुरुवातसंगै अर्का नाटककार कृष्ण उदासीले आफ्नो नाटकलाई राष्ट्रिय नाटक महोत्सवमा लगे । निर्देशन, लेखन र अभिनयमा निपुण उदासीले पोखराबाट रेडियो नाटकको प्रतिनिधित्व समेत गरे । रेडियो नेपालको क्षेत्रीय प्रशारणको शुरुवात भएदेखि नै २०५१ सालबाट रेडियोमा नाटक जान थाल्यो । त्यतिबेला पनि थुप्रै कलाकारहरु नाटकबाट जन्मिए । तर पचासको दशकको अन्त्यसंगै पोखरेली रंगमञ्च थला पर्ने क्रम शुरु भयो ।

पोखरामा नाटकबाटै केहि चर्चा पाएकाहरुमा अनुप बराल, प्रकाश घिमिरे, मन केसी, हेमन्त पराजुली, आर्या भण्डारी, सञ्जय श्रेष्ठ, प्रकाश गिरी, दिपकमान उदास, मोहनसिंह खड्का, केशु श्रेष्ठ, बुद्ध गुभाजु, अभिमन्यु विक्रम राणा, गोबिन्द कोईराला, गोबिन्द रमण पराजुली, माओत्से गुरुङ, सविन बाँस्तोला, सुरेश केसी लगाएतका छन् । यी नामहरुमा एकादुई बाहेक धेरै जना अहिले नाटकभन्दा टाढै रहेका छन् । अनुप बरालले भने काठमाण्डौ हानिए अनि नाट्यकर्मलाई निरन्तरता दिईरहे । अहिले उनी अन्तराष्ट्रिय रंगमञ्चमै चर्चित छन् ।

५० को दशकसम्म पोखरेली रंगमञ्च सक्रिय नै थियो । तर, जव ६० को दशक शुरु भयो त्यसपछि पोखरामा नाटक हुन छाडे । करिब एक दशक पोखरामा कुनै नाटक नै मञ्चन भएनन् । उता अन्तराष्ट्रियस्तरमा नाटकको क्रेज बढ्दै गर्दा यता पोखरामा भने नाट्यकर्म एकाएक यसरी सुस्तायो कि, एक दशकसम्म निदाएको निदायै भयो । भएका रंगकर्मीहरु पनि आ–आफ्नै दुनो सोझ्याउने ध्याउन्नमा लागे । नाटकका लागी कोहि तयार भएनन्, अनि पोखरेलीका लागी नाटक विरानो बन्दै गयो ।

ब्युँझदै फेरी नाटक

एक दशक पुरै सुस्ताएपछि पोखरेली रंगमञ्च अहिले फेरी ब्युँझने तयारीमा छ । पोखरेली रंगमञ्चलाई ब्युँझाउनकै लागी अहिले केहि पोखरेली युवाहरु नाटक मञ्चनका लागी जुटिरहेका छन् । युथ क्रियशन थियटर नाम दिएर अहिले उनीहरु नाटकको रिहर्सलमा जुटिरहेका छन् । पोखरेली नाट्य प्रतिष्ठानले उनीहरुलाई प्राविधिक सहयोग गरिरहेको छ । ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ नामक नाटक जेठ अन्तिम सम्ममा पोखरामा मञ्चन गरिसक्ने थियटरको योजना छ ।

नाटकलाई कृष्ण उदासीले लेखन र निर्देशन गरिरहेका छन् । पोखरामा व्यवसायिक रंगकर्मलाई निरन्तरता दिने उद्देश्यसहित थियटरले नाटकलाई मञ्चन गर्न लागेको हो । ‘हामीले पोखरामा निरन्तर रुपमा थियटर चलाउने उद्देश्यले नै संगठित भएर लागेका हौँ ।’ थियटरका अध्यक्ष कपिल शर्मा ‘सन्जोग’ले भने–‘लामो समयदेखि सुस्ताएको पोखराको रंगमञ्चलाई उठाउने जिम्मेबारीबोध पनि हामीले गरेका छौँ ।’

‘हामीले नाटकलाई पुरै व्यवसायिक बनाएर लैजानेछौँ ।’ निर्देशक कृष्ण उदासी भन्छन्–‘न कि नाटकमा लागेर कसैले पनि हात मुख जोर्नका लागी अन्य विकल्प खोज्न परोस् ।’ व्यवसायिकताको अभावमा नै पोखरामा रंगकर्म सुस्ताएको भन्ने कुरा बुझेका यी निर्देशकले व्यवसायिकताबाटै अबका दिनमा पोखराको रंगकर्मलाई निरन्तरता दिन सकिने दाबी गर्छन् । करिब एक दशकसम्म सुस्ताएको पोखराको रंगमञ्चलाई ब्युँताउनका लागी भएको पहललाई सबैले सकारात्मक रुपमा लिनुपर्ने उनी बताउँछन् । नाटकको प्राविधिक पक्षमा व्यवस्थापन तर्फ हेमन्त पराजुली, प्रकाशतर्फ प्रकाश गिरी र सहनिर्देशनमा विभु भुषाल रहेका छन् ।

कमेन्टहरु
Loading...