सहिद राजविक्रम–सीता भुर्तेल स्मृति प्रतिष्ठान गठन

पोखरा, ३१ वैशाख/जनयुद्धका क्रममा सहादत प्राप्त गर्नुभएका पति राजविक्रम भुर्तेल र पत्नी सीता भुर्तेलको स्मृतिमा ‘सहिद राजविक्रम–सीता भुर्तेल स्मृति प्रतिष्ठान’ गठन भएको छ । सहिदद्वयको १०औं स्मृति दिवसका अवसरमा आयोजित सभामा प्रतिष्ठान गठनको घोषणा गरिएको हो ।

सोमनाथ भुर्तेल संयोजक रहनुभएको प्रतिष्ठानको सदस्यहरुमा नारायणविक्रम शाही, सुभद्रा कोइराला, दयाराम अधिकारी, तारानाथ अधिकारी, सुवर्ण कोइराला, प्रकाश कोइराला र अनिता भुर्तेल रहनुभएको छ । सोही अवसरमा सहिदद्वयकी छोरी अनिता भुर्तेलले प्रतिष्ठानलाई २५ हजार रुपैया दिने घोषणा पनि गर्नुभएको थियो ।

स्मृतिसभामा बोल्दै एकीकृत माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक झलकपाणि तिवारीले सहिदहरुकै देनका कारण मुलुक परिवर्तनको दिशामा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो–‘धेरै सहिदले सहादत हुन स्वीकार नगरेको भए मुलुक अझै पनि निरंकुश राजतन्त्रकै छायाँमुनि हुन्थ्यो ।’ नेता तिवारीले क्रान्तिको निर्णायक विजयको प्रक्रिया पुरा नभएकोले सहिदहरुलाई जसरी स्थापित गर्नुपर्ने हो त्यसरी स्थापित गर्न नसकेको स्वीकार्नुभयो ।

एकीकृत माओवादी अझै पनि आन्दोलनकै क्रममा रहेको उल्लेख गर्दै तिवारीले लक्ष्य प्राप्तीको दिशामा निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा एकीकृत माओवादीकै वैकल्पिक केन्द्रीय सदस्य राजकाजी गुरुङ‘करण’ ले राजविक्रम भुर्तेल लामो राजनीतिक तथा साहसिक आन्दोलनका प्रतिक भएको बताउनुभयो । उहाँले भुर्तेल एक बहुप्रतिभाशाली नेता भएको स्मरण गर्नुभयो ।

जनयुद्धका क्रममा २०६१ वैशाख ३१ गते तत्कालिन शाही नेपाली सेनाले राजविक्रम र सीता भुर्तेललाई कास्कीको पामेबाट निहत्था अवस्थामा गिरफ्तार गरी हत्या गरेको थियो । यसैबीच, स्वर्गीय थोमसप्रति श्रद्धाञ्जली व्यक्त गर्न गण्डकी आवासीय उच्च मा.वि.ले जेठ २ गते बिहीवार अपरान्ह विद्यालयमा शोकसभा गर्ने विद्यालयका सहायक प्राचार्य शिवलाल धितालले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...