स्वर्गीय गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार रवीन्द्र बाँस्तोलालाई सम्मान दिने

पोखरा,८ साउन/स्वर्गीय गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार रवीन्द्र बाँस्तोला आज सम्मानित हुदैँ छन् । डेढ दशक देखी पोखराको पत्रकारितामा सक्रिय बास्ँतोलालाई बुधबार पोखरा उद्योग वाणिज्य संघको प्रेक्षालयमा एक कार्यक्रमका विच सम्मान गरिने भएको छ । स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको परिवारद्वारा स्थापना गरिएको तथा पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारबाट पोखरा आवाज राष्ट्रिय दैनिकका सम्पादक बाँस्तोला सम्मानित हुन लागेका हुन् ।
पुरस्कारको राशी नगद २५ हजार र सम्मानपत्र र दोसल्ला रहेको छ । पुरस्कार छनौट समितिको संयोजक नारायण भट्टराईको संयोजकत्वमा बनाइएको प्रतिभा छनोट समितिको सिफारिसमा नेपाल पत्रकार महासंघ कास्की शाखाले बास्तोलालाई उक्त पुरस्कार दिने निर्णय गरेको शाखाका सहसचिव विभू भूसालले जानकारी दिए । प्रतिभा छनोट समितिको सदस्यहरुमा पत्रकार पुण्य पौडेल, उपप्राध्यापक बेदहरी तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष बद्री विनोद प्रतिक र सचिव त्रिभूवन पौडेल पदेन सदस्य रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको हातबाट पुरस्कार अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । डेढ दशकदेखि पोखराको पत्रकारितामा क्रियाशील पत्रकार वाँस्तोलाले पोखराबाट प्रकाशन भएको आर्दशसमाज दैनिकबाट पत्रकारिता थालेका हुन् ।
पत्रकार वाँस्तोला नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, पश्चिमाञ्चल संयोजक तथा कास्की शाखा अध्यक्ष भएर नेपाल पत्रकार महासंघको संगठन निर्माणमा पनि उल्लेख्य योगदान गरेका थिए । पत्रकार वाँस्तोला हाल नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार समेत हुन् । यसअघि यस पुरस्कारबाट पुण्य पौडेल, ओम शर्मा, पदम रेग्मी, गंगाधर पराजुली, रद्रबहादुर थापा, रमेश पौडेल, निर्मला शर्मा, हिमनिधि लौडारी, श्यामनाथ कुँवर, राजबहादुर गुरुङ, दुर्गा भण्डारी, भेषराज आचार्य, आरजु विष्ट सल्यानी, रुद्र भट्ट, हेमराज बराल, वाशुदेव मिश्र र रामकृष्ण ज्ञवाली सम्मानित भइसकेका छन् । यस पुरस्कारलाई २०६८ देखि राष्ट्रिय स्तरको बनाइएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका अनुसार उक्त पुरस्कार पोखरा उद्योग वाणिज्य संघको हलमा विहान ८ बजे अर्पण गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...