प्रचण्ड सहिदका सन्तानसँग

पोखरा, १६ फागुन/एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाइरहेका बेला उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरा उपमहानगरपालिका १४ मझेरीपाटन स्थित सहिद स्मृति निम्नमाध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीसँग भेटघाट गर्नुभएको छ ।उक्त विद्यालयमा जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने पश्चिमाञ्चल क्षेत्रका नेता तथा कार्यकर्ताका २ सय ३० भन्दा बढी सन्तान अध्ययनरत छन् । सो अवसरमा उहाँले विद्यार्थीलाइ एनेकपमा माओवादी तमुवान राज्य कार्यालयको तर्फबाट प्रदान गरिएको फलफुल र कास्की जिल्ला खेलकुद विकास समितिले उपलब्ध गराएको खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीले आफुले बाबुआमा नभएको महसुस गर्नु नपरेपनि भविष्यको चिन्ता लागेको बताउँदै आफ्ना अभिभावकको सपना पुरा गर्नुको साथै आफ्नो उज्ववल भविष्यको बारेमा पनि सोच्न प्रचण्डलाइ आग्रह गरेको थिए ।

आफ्नो श्रद्धाञ्जली मन्तव्यमा प्रचण्डले सदिदका सपना पुरा गर्ने बाटो सँधैं एउटै नहुँदोरहेछ भन्दै पार्टीले घुमाउरो बाटोबाट सहिदको सपना पुरा गर्ने उद्देश्य लिएको बताउनुभयो । संसारका धेरै देशमा नेता कार्यकर्ता पनि सकिने र पार्टी पनि सकिने इतिहासको उदाहरण दिँदै प्रचण्डले पार्टी र कार्यकर्ताको थप क्षति हुन नदिने पार्टीले शान्तिपुर्ण ढंगले क्रान्ति पुरा गर्न लागेको बताउनुभयो । प्रचण्डसँगै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति संयोजक डिलाराम आचार्य, केन्द्रीय सदस्य हरि अधिकारी, कास्की जिल्ला संयोजक झलकपाणी तिवारी लगायले विद्यालयको अवलोकन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...