नेपालकै नौलो प्रजातीको विरालो मनाङमा भेटियो (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, २९ माघ/विश्वबाटै लोप हुने खतरामा रहेको हिमाली प्रजातीको एउटा जनावरमा नेपालमा पहिलो पटक मनाङको हिमाली भेगमा फेला परेको छ । हिमचितुवा संरक्षणका लागि काम गर्ने सस्था ‘सेभ द लियोपार्ड कन्जरभेन्सी’ (एसएलसी)ले मनाङ जिल्लाको हिमाली भेगमा राखेका स्वचालित क्यामेरामा सो प्रजातिका जनावरको तस्विर कैद भएको छ । ‘पलास क्याट’ नामले चिनिने हिमाली भेगमा बस्ने विरालो जातीको सो जनावर यस अघि नेपालमा कहिले पनि देखिएको थिएन ।

प्यालस क्याट विरालो
प्यालस क्याट विरालो

अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र परियोजना र एसएलसीले मनाङ र मुस्ताङ जिल्लामा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवन संरक्षण गर्ने अभियान सञ्चालन गरेका छन् । सोही क्रममा हिमचितुवाको अवस्था बारेमा जान्नका लागि राखिएका स्वचालित क्यामेराहरुमा ‘पलास क्याट’को तस्वीर पनि कैद भएको एसएलसीका कार्यक्रम संयोजक बिक्रम श्रेष्ठले जानकारी दिए । हिमाली मुसा, छेपारा, किरा फट्याङ्गा आदी खाने सो मांसहारी जनावरलाई अन्तराष्ट्रि प्रकृति संरक्षण युनियनले लोप हुने खतरामा रहेको वन्यजन्तुमा राखेको छ । “यो जनावर नेपालमा पाइनु खुशीको कुरा हो, अब संरक्षणका लागि अभियान सञ्चालन गर्नु आवश्यक हुन सक्छ ।’ एसएलसीका संयोजक श्रेष्ठले भने ।

एक्याप र एसएलसीले बुधबार सो नयाँ प्रजातिको जनावरको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरेका थिए । सो विरालोको पहिलो तस्विर सन २०१२ मा ४२ सय मिटर उचाइमा कैद भएको थियो भने सन २०१३ मा त्यो भन्दा माथि ४६ सय मिटर उचाईमा समेत कैद भएको थियो । सोही तस्विरलाई तीन जना विशेषज्ञले गहिरो अनुसन्धान गरे पछि पलास क्याट भएको पुष्टी गरेका हुन । तीन जना विशेषज्ञ मध्ये एक जना नेपाली करण शाह हुन भने अन्य दुई जना विदेशी हुन ।

मनाङको हिमाली भेगमा फेला परेका सो विरालो अन्य जिल्लाका हिमाली भेगमा समेत पाइन सक्ने भन्दै संयोजक श्रेष्ठले अनुसन्धानको विषय भएको बताए । “हामीले हिम चितुवाको अध्ययन गर्ने क्रममा फेला पारेका हौ, अब यसैलाई केन्द्रिकृत गरेर खोज्ने हो भने अरु सफलता हात पार्न सकिएला ।’ श्रेष्ठले भने । सो पत्रकार सम्मेलनमा बोल्दै एक्याप प्रमुख लालप्रसाद गुरुङले एक्याप प्रकृतिको संरक्षणमा लागि परेको बताए । उनले स्थानीयको विकास गर्दै प्राकृतिक श्रोत र साधनको संरक्षण गर्नु एक्यापको मुख्य उद्देश्य रहेको जानकारी दिएका थिए ।तस्वीरः एक्याप

प्यालस क्याट विरालो
प्यालस क्याट विरालो

pales cat acap manang nepal (3)

कमेन्टहरु
Loading...