लेखनाथ साहित्य पुरस्कार साहित्यकार दीक्षितलाई दिइने

हरेक वर्ष वितरण हुँदै आएको लेखनाथ साहित्य पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार मदनमणि दिक्षितलाई प्रदान गरिने भएको छ । पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ साहित्य पुरस्कार तथा कुन्तीदेवी शिक्षा पुरस्कार सञ्चालक समितिले संयुक्त रुपमा प्रदान गर्दै आइरहेका छन् ।
लेखनाथ जयन्तीका अवसरमा आगामी पौष १५ गते काठमाण्डौमा दिक्षितलाई पुरस्कारले सम्मान गरिने लेखनाथ साहित्य प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । विसं १९७९ फागुन ७ गते काठमाण्डौ गौरीधारामा जन्मिएका दीक्षितले नेपालको साहित्य क्षेत्रमा दिएको उच्च योगदानको मुल्याङकन गर्दै उनलाई पुरस्कारको लागि छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिए । अस्वस्थताका कारण दीक्षित पुरस्कार ग्रहणको लागि पोखरा आउन नसक्ने भएकोले काठमाण्डौमै गएर नेपाली शिक्षा परिषद् काठमाण्डौसँग मिलेर लेखनाथ साहित्य सदनमा प्रदान गरिने उनले बताए ।
दीक्षितका कसले जित्यो कसले हार्यो कथा संग्रह, हाम्रा ती दिन, मेरी आमाको प्रश्नलाई, दश लाख हिरोसिमातिर, द्रौपदी र सीता, हाम्रा प्राचीन नारी, आनन्दमय जीवन जस्ता दर्जनौ कृति प्रकाशित छन् । उनको ऋग्वेदमा नारी चरित्र प्रकाशोन्मुख रहेको छ । दीक्षितको पत्रकारीताको क्षेत्रमा पनि महत्वपुर्ण योगदान रहेको थियो । २०६६ साल पौष ४ गते स्थापना भएको सो पुरस्कारबाट यसअघि २०६७ सालमा नेपाली शिक्षा परिषद् र २०६८ मा बासुदेब त्रिपाठी सम्मानित भइसकेका छन् । लेखनाथ साहित्य पुरस्कारको राशी नगद ५० हजार रुपैया रहेको छ ।
यो पुरस्कार नेपाली भाष, साहित्य, कला, संस्कृतिको विकासमा उल्लेख्य योगदान पुर्याएका वरिष्ठ ब्यक्तित्वहरुलाई दिने गरिएको लेखनाथ साहित्य पुरस्कार तथा कुन्तीदेबी शिक्षा पुरस्कार अक्षयकोष सञ्चालक समितिका अध्यक्ष शुक्रराज अकिारीले बताए । प्रा.डा नारायण रविलाल अधिकारीको संयोजकत्वमा शुक्रराज अधिकारी, डा.प्रतिभा पाण्डे, पत्रकार कृष्णप्रसाद बाँस्तोला र रर्मा शर्मा सदस्य रहेको पुरस्कार प्रतिभा छनोट समितिले दीक्षितलाई पुरस्कारको लागि सिफारीस गरेको उनले जानकारी दिए ।
यसैबिच कुन्तीदेवी शिक्षा पुरस्कार लेखनाथको अर्चलेमा रहेको लेखनाथ प्रावीका छात्रछात्रालाई वर्षेनी प्रदान गर्दै आइएको प्रतिष्ठानका अध्यक्ष ढकालले जानकारी दिए । सो पुरस्कारको राशी नगद १० हजार रुपैया रहेको छ ।

कमेन्टहरु
Loading...