न्यूज २४का जोशीले धम्की दिदै भने -अझै एक बर्ष तलव दिन्न

काठमाडौं, ३ जेठ। न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार/कर्मचारीले पारिश्रमिक पाउनका लागि व्यवस्थापन समक्ष दबाब दिइरहेका बेला टेलिभिजनका अध्यक्ष अनिल जोशीले उल्टै धम्की दिइ जागिर छोड्न वाध्य पारेका छन्। जोशीले अझै एक वर्षसम्म तलव नदिने र तलव मागेर दबाब दिने पत्रकारलाई जे पनि गर्ने धम्की दिएका त्यहाँ कार्यरत पत्रकारहरुले जनाएका छन्।

तलव माग्ने पत्रकारलाई छाडेर जान दबाब दिँदै धम्कीसमेत दिएपछि प्रमोद न्यौपाने, प्रभात देवकोटा, अनुप आचार्यलगायतका श्रमजीवी पत्रकारहरुले राजीनामा दिएका छन्। त्यहाँ कार्यरत अन्य पत्रकारलाई समेत त्रसित बनाउँदै काम गर्न बन्देल लगाउँदै मानसिक यातना दिइएको छ। अध्यक्ष जोशीले धम्कीपूर्ण भाषामा तलव माग्ने पत्रकारहरुलाई संस्था छाडेर जान बाध्य पारेको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

न्यूनतम र नियमित पारिश्रमिक नपाएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको सन्दर्भमा न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकारहरुले पटकपटक वैधानिक संघर्ष गर्दै आएका थिए। यसबीचमा व्यवस्थापनका पक्षबाट अध्यक्ष अनिल जोशी स्वयंले हस्ताक्षर गरी माग पूरा गर्ने प्रतिवद्धता जनाएका थिए। तर एकाएक आफ्नै प्रतिवद्धता विपरीत जोशी धम्कीको तहमा ओर्लिएको घटनाप्रति महासंघले आपत्ति जनाएको छ।

महासंघले समेत यस्ता गैरकानुनी र श्रमजीवी पत्रकारविरोधी हर्कत तुरुन्त बन्द गर्न एवं संविधान र ऐन-नियमबमोजिम पत्रकारहरुलाई सेवा-सुविधा उपलब्ध गराउन र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तत्काल निर्माण गर्न व्यवस्थापन पक्षलाई चेतावनी दिएको छ। अन्यथा महासंघ श्रमजीवी पत्रकारको हित र अधिकार स्थापना गराउन जस्तोसुकै कदम चाल्न बाध्य हुने महासंघले जनाएको छ। cp.hamrakura.com

कमेन्टहरु
Loading...