जन्मकैदको सजाँय सकिएपछि प्रहरी नियन्त्रणमा

पोखरा, 5 पुस/अदालतले जन्म कैदको सजाय सुनाएको एउटा अपराधी २० वर्षमा जेलमुक्त हुन्छन् । २० वर्ष जेलमा बसिसकेपछि त्यस्ता अभियुक्तले सामान्य नागरिक सरह समाजमा आफुलाई स्थापित गराउन कसैले रोकतोक गर्दैन । उसलाई समाजले कुनै अपराधीको व्यवहार देखाउन पनि पाउँदैन । तर, कास्कीमा एउटा अचम्मको घटना भएको छ । अदालतबाट सर्वस्व सहित जन्म कैदको फैसला भएको २० वर्ष पछि मात्र अपराधीलाई पक्राउ गरेको छ ।कानुनी हिसाबले यो अवधीमा उनी जेलबाट मुक्त भैसक्नुपर्ने हो । २० वर्षसम्म उनी जेलमा बसेर आफुलाई सामान्य नागरिक बनाउनुपर्ने हो । तर किन २० वर्षपछि समात्यो त कास्की प्रहरीले उनलाई ? ‘उनी २० वर्षदेखि फरार रहेका थिए, त्यसैले हामीले अहिले आएर मात्रै पक्राउ गर्न सक्यौँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले भने–‘कास्की प्रहरीले थालेको फरार अपराधी खोजी अभियानको क्रममा उनी समातिएका हुन् ।’ यसरी २० वर्षसम्म फरार रहेर अहिले समातिने अपराधी हुन् कास्की पुरन्चौरका ४५ वर्षिय कुमार भनिने पुर्णबहादुर श्रेष्ठ ।

२० वर्षसम्म फरार रहेका अपराधी श्रेष्ठलाई पर्वत तिलहार स्थित नयाँपुलका बाबुराम खड्काको हत्या गरेको आरोपमा पर्वत अदालतले २०४९ सालमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो । अदालतले सर्वस्व सहित जन्मकैद सुनाएपनि उनी अहिलेसम्म फरार रहेका कारण प्रहरीको नियन्त्रणमा आउन सकेका थिएनन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको एक टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको थियो । कास्की प्रहरीले फरार अपराधी श्रेष्ठलाई जिल्ला अदालत पर्वतको जिम्मा लगाएको थियो ।

२० वर्षदेखि फरार रहेका श्रेष्ठ पुरन्चौर ५ बस्ने प्रेमकुमार श्रेष्ठको छोरा भएको प्रहरीले जनाएको छ । २० वर्षसम्म उनी कहाँ थिए ? भन्ने कुरा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उता पर्वत जिल्ला प्रहरी कार्यालयका अनुसार पर्वत जिल्ला अदालतले श्रेष्ठलाई पुनः पत्र काटेर थप निर्णयको लागी कास्की अदालतमा पठाएको छ । पर्वत जिल्ला अदालतले पत्रसहित पठाएपनि कास्की अदालतमा उक्त पत्र विहिबार मात्रै पेश हुने जनाईएको छ ।

२० वर्षसम्म एउटा सर्वस्व जन्मकैद सुनाईएको अपराधी फरार रहेपछि अदालतले अब कस्तो खालको निर्णय सुनाउने हो भन्ने विषय चासोको विषय बनेको छ । कास्की अदालतले २० वर्ष अघि जन्मकैद सुनाईएको श्रेष्ठलाई कैद पुर्जी थमाएर कारागार पठाउँछ वा अरु नै कारबाहि प्रकृया अगाडी बढाउँछ भन्ने कुरा थाहा पाउन कास्की अदालतको निर्णयले देखाउनेछ ।

त्यस्तै कास्की प्रहरीमा केहि सार्वजनिक अपराध मुद्दामा अनुसन्धान भैरहेको प्रतिबादी रोल्पा सेराम घर भई बाटुलेचौर बस्ने २४ वर्षिय सुमन भनिने राजकुमार राना मगर पनि गुल्मीबाट फरार रहेको भन्ने बुझ्न आएको जनाएको छ । रानामगरले गुल्मी ग्वाघा स्थित भवानीप्रसाद गौचनको घरमा २०६७ सालमा चोरी गरि वारदात पश्चात फरार रहेको भन्ने जिल्ला प्रहरी कार्यालय गुल्मीबाट जानकारी प्राप्त भएकोले यहाँ चलेको केहि सार्वजनिक अपराधको अनुसन्धान पश्चात उनलाई गुल्मी प्रहरीको जिम्मा लगाईने जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...