धर्म भाइ बनाएर ‘अनैतिक सम्बन्ध’पछि हत्या

लाल प्रसाद शर्मा/ कान्तिपुर पोखरा, फाल्गुन १३ – ‘धर्म भाइ’ बनाएर अनैतिक सम्बन्ध राख्दै आएकी रानीपौवाकी कल्पना नकर्मीले उदयपुर साउनेपानी, ९ घर भई हाल पोखरा, १२ मा बस्दै आएका २६ वर्षीय अमर रानामगरको हत्या गरेकी छन् ।

शनिवार राति ८ बजेतिर रानामगरलाई भेट्न बोलाएकी ३५ वर्षीया नकर्मीले अन्य दुई सहयोगीलाई बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । रानामगरको शव पृथ्वीनारायण क्याम्पसभन्दा केही तलको चौरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएको थियो । नकर्मीको संलग्नतामा रानामगरको हत्या गर्ने अन्य दुई फरार भएका र खोजी भइरहेको प्रहरी प्रबक्ता रविन्द्र पौडेलले बताए ।

प्रहरीका अनुसार शनिवार नकर्मीले रानामगरलाई बोलाएलगत्तै अन्य २ सहयोगीलाई पनि बोलाएकी थिइन् । प्रहरीले उनीहरुको नाम गोप्य राखेको छ । ‘रानामगरको हत्या गरेपछि आफ्ना हात पछाडि बाँधेर नकर्मी प्रहरीकहाँ आएर धर्म भाइ र म चौरमा बसिरहेका बेला दुई ब्यक्ति आएर भाइलाई नियन्त्रणमा लिएका र मलाई बाँधेर पठाएको बताएकी थिइन्,’ पौडेलले भने, ‘शंका लागेर केरकार गर्दा नकर्मीकै संलग्नतामा हत्या गरेको पुष्टि भयो ।’

नकर्मी केही दिन अघिसम्म महेन्द्रपुलमा फुटपाथमा ठेलामा चिया पसल गर्दै आएकी थिइन् । तर स्थानीय प्रशासनले साता दिन अघिमात्रै फुटपाथ हटाएपछि उनी घरमै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा ‘धर्म भाइ र दिदी’ नाता बनाएर दुवैले अनैतिक सम्बन्ध राख्दै आएका र पछिल्लो समय लेनदेनको बिषयलाई लिएर दुवैबीच मनमुटाव भएको थियो । पोखरामा निर्माणको काम गर्दै आएका रानामगरको शव राति पौने एघार बजे भेटिएको थियो ।

शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पतालमा राखिएको छ ।

 

कमेन्टहरु
Loading...