सिड्नी म्याराथनमा नेपाली धावक महर्जन प्रथम

३१ भदौ, सिड्नी । ३ सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली धावक रामकृष्ण महर्जन सिड्नी म्याराथनमा प्रथम भएका छन् । ४२ दशमलव १९५ किलोमिटर दूरी २ घण्टा ५८ मिनेट ३९ सेकेन्डमा पार गर्दै महर्जन आफ्नो समूहमा प्रथम भएका हुन् । पूरै प्रतियोगितामा उनले ४७ औं स्थान पाएको अष्ट्रेलियाबाट संचालित नेपाली न्यूज पोर्टल www.aunepal.com ले जनाएको छ । प्रतियोगितामा १८ देखि ७५ वर्ष उमेरका धावकहरु सहभागी थिए। १२ वटा समुहमा विभाजित म्याराथनमा नेपालका मर्जन ५२ देखि ५५ वर्ष उमेर समूहबाट दौडिएका थिए ।

बिहान साढे सात बजे सिड्नीको हावर्ड ब्रिजबाट शुरु भएको दौडमा महर्जनको हौसला बढाउन नेपालीहरु उपस्थित भएका थिए । प्रतियोगितामा सहभागी हुन महर्जन एक हप्ता अघि सिड्नी अएका हुन् । उनले साँझ विहान स्थानिय हावापानीमा अभ्यास गरेका थिए । नेपालमा रहँदा पनि धावक बैकुण्ठ मानन्धरको प्रशिक्षणमा खारिने मौका पाएका महर्जन आफ्नो समूहको विजेता हुनेमा ढुक्क थिए ।

यसअघि उनले न्युयोर्क सिटी म्याराथनमा भाग लिइसकेका छन्। सन् २०१० मा भएको एसिया मास्टर गेमामा प्रथम भएर उनले स्वर्ण पदक जितेका थिए । सन् १९८१ म पहिलो पटक मस्को म्याराथोनमा भाग लिएका महर्जनले नेपालको प्रतिनिधित्व गर्दै एक दर्जन भन्दा धेरै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएका छन् ।

ब्लाकमोर औषधि कम्पनीले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगितामा संसारका सयौ धावकहरु सहभागि हुन्छन् । दौडकै लागि भनेर रोड एण्ड ट्राफिक अथोरिटी सिड्नीले एक दर्जन भन्दा धेरै मुख्य र सहायक राजमार्गमा सवारी आवागमन बन्द गरेको थियो ।

अनलाइन खबरबाट

कमेन्टहरु
Loading...