मुग्लिन – नारायणगढ सडकमा दिनहुँ पहिरो, २९ ठाउँमा पहिरोको जोखिम

चितवन, २ साउन /‘प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ(काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले आक्रोस पोखे । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे।

‘बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ’, उनले भने ‘ज्यानको माया मारेर हिँड्नुपरेको छ।’ खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ। यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन। पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए। आजको अन्नपूर्णमा अनिल ढकालले लेखेका छन्।

२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन। सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो। त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो। त्यसपछि पनि दुईपटक म्याद थपिएको छ।

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो। सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ। अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ। वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन्। कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताए।

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ। ठाउँ ठाउँमा पहिरो खस्ने गरेको छ। खाल्डो नपुर्दा जोखिम बढेको छ। गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताए।

दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन्। उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ। ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन्। सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन्। आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो।

कमेन्टहरु
Loading...