आज माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व

पोखरा, १ माघ /नेपालीहरुको महत्वपुर्ण पर्व माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति आज (मंगलबार) देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको हो । आजको दिन पवित्र नदीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे सङ्क्रान्ति पर्व मनाईन्छ ।

माघ १ गतेबाटै सूर्य उत्तरायण सुरु हुने भएकाले आजैको दिन देखि दिन भन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता पनि रहेको छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन पोखराको ढुङ्गेसाघुँ, चितवनको देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गर्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यता समेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यसलाई लोकोक्ति अनुसार ‘पुसमा पाके माघमा जाके’ भनिन्छ । आजको दिनलाई थारु र मगर समुदायले नयाँ बर्षको रुपमा समेत मनाउने गर्दछन् ।

कमेन्टहरु
Loading...