CAN

मानसिक डाक्टरजसरी नेपालले भने, ‘प्रचण्डलाई महाराँची लानुपर्थ्यो, दिमाग ठीक भएकाले परेन

29

किरण भण्डारी

माओवादी अध्यक्ष प्रचण्डले बर्दियाको एउटा कार्यक्रममा चार साताअघि एमालेलाई होच्याउँदै अभिव्यक्ति दिए, ‘आगामी संविधानसभाको निर्वाचनपछि एमाले भन्ने पार्टी नै रहँदैन ।’ प्रचण्डको उक्त अभिव्यक्ति खण्डन गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालदेखि अरू शीर्ष नेता, पोलिटब्युरो, केन्द्र र जिल्ला नेतृत्वमा रहेकाको होडबाजी नै चल्यो ।

प्रचण्डको प्रत्युत्तरमा वैशाख ११ गते सर्लाहीको सभामा नेपालले भने, ‘प्रचण्डलाई राँची लानुपर्ने भएको छ ।’ संगठन, दौडधूप र चौतर्फी सम्पर्कका हिसाबले नेपाल पार्टी अध्यक्ष झलनाथ खनालभन्दा धेरै टाठा मानिन्छन् । डेढ दशक एमालेजस्तो राष्ट्रिय पार्टीको नेतृत्व र प्रधानमन्त्रीसमेत भइसकेका नेपालले प्रचण्डको राजनीतिक आरोपको अराजनीतिक खण्डन गर्नु सुहाउँदो थिएन ।

त्यही दिन बेलुका बिबिसी नेपाली सेवामा नेपालको अन्तर्वार्ता थियो । उनी झन् सुरिए, ‘प्रचण्डको दिमाग सड्केको छ । उनलाई उपयुक्त उपचारको सख्त जरुरत छ ।’ प्रचण्डको अभिव्यक्तिप्रति नेपालको झोँक अझै मरेको थिएन । शैली झन् अराजनीतिक । नेपालको दौडधूप पनि जारी थियो । भोलिपल्ट वैशाख १२ गते गृहनगर गौर पुगे । प्रचण्डको आरोपको खण्डन गर्नमै आफूलाई केन्द्रित गरे ।

असान्दर्भिक खोट लगाएर प्रचण्डको आरोप खण्डन गर्ने प्रयत्न गरे, ‘एमालेजस्तो विशाल पार्टीलाई केही नदेख्ने प्रचण्ड पावरवाल चस्मा लगाउनुस्, मगजको उपचार गर्न राँची हैन, महाराँची जानुस् ।’ बेतुककै सही, यस्ता जवाफमा सभाहरूमा नेपालले ताली पाउँथे । एमालेका युवादेखि आफूलाई बुद्धिजिवी भन्न रुचाउने नेताहरू नेपालको प्रतिवाद सुनेर वा पढेर दंगदास हुन्थे । आफ्ना नेताप्रति गर्व गर्थे । ‘माधव कमरेडले प्रचण्डलाई दह्रो झट्का दिनुभयो,’ बल्खुमा कुरा चल्थ्यो ।

एमालेमात्र हैन, राजनीतिक मुद्दामा वादविवाद गर्ने ल्याकत गुमाएर यस्ता फत्तुर तर्क गर्नेहरूको संख्या अरु पार्टीमा पनि कम छैन । नेताहरूको बौद्विक दिवालियापनको लक्षण हो । ‘संविधान सभा निर्वाचनपछि एमाले भन्ने पार्टी नै रहन्न’ भन्ने प्रचण्डको अभिव्यक्तिबाट अध्यक्ष खनाल पनि मर्माहत थिए नै । वैशाख १३ गते राजधानीमा महिला विभागद्वारा आयोजित गोष्ठीमा खनालले भने, ‘एमाओवादीलाई आगामी निर्वाचनपछि बत्ती बालेर खोज्नुपर्ने स्थिति आउँछ ।’ ताली खाए ।

माओवादी कसरी सक्किन्छन् भन्ने व्याख्या गर्न जरुरी ठानेनन् । ‘माओवादीलाई ठोकेको’ एकोहोरो जस नेपालले मात्र एकलौटी लेलान् भन्ने उनको भय हुनुपर्छ । मिडिया कभरेज पनि भयो । बोल्नुपर्ने विषय यो पो रहेछ भनी खनाललाई तत्वबोध भएछ । भोलिपल्टको अर्को कार्यक्रममा झलनाथ कुर्ले, ‘उग्रवामपन्थी र अराजकतावादको पहाडमा टेकेर अनेक प्रकारका भ्रम फैलाउन खोज्ने एकीकृत माओवादीलाई आगामी निर्वाचनपछि बत्ती बालेर खोज्नुपर्ने स्थिति आउँछ ।’

नेपालको भन्दा खनालको अभिव्यक्ति राजनीतिक थियो । यसपाला भने उनले व्यक्तिगत लाञ्छना लगाएनन् । भोलिपल्ट भक्तपुरमा आयोजित एउटा कार्यक्रममा नेपाल बोले, ‘एमाओवादी समाप्त हुने डरले ‘एमाले कहाँ छ ?’ भनिरहेको छ ।’ यतिञ्जेल पनि युवाहरूले आफ्ना शीर्ष नेताको ट्युनिङ् फेरिएको पत्ता पाइसकेका थिएनन् । दिमाग, आँखा, मुटु वा अरू अंगको प्रसङ्ग उप्काउँदै एमालेका युवाहरूले दाहालको खेदो खनिरहेकै थिए । एमाले तप्काकै अमर्यादित आरोपको प्रचण्डले कुनै प्रतिक्रिया जनाएनन् । भनौं, वास्ता गरेका छैनन् ।

प्रचण्डको एक वाक्यले एमालेको पुरै पार्टी तप्कालाई तीन हप्तासम्म खुराक पुग्यो । अब भने नेपालको रिस मरेको छ । उनले आइतबार (वैशाख २८) गते नयाँ अभिव्यक्ति दिए, ‘प्रचण्डको दिमाग दुरुस्त नै रहेछ, अब उपचार जरुरत छैन ।’ ‘नेपाल वाणी’ एफएमलाई अन्तर्वार्ता दिँदै उनले भने, ‘दिमाग ठीक नभएको भए राँची हैन, महाराँची लानुपथ्र्यो, अहिले ठीक देखिएकाले परेन ।’
नेपालले किन स्वस्थ देखे त प्रचण्डलाई ?

उनकै शब्दमा ‘एमाले महत्वपूर्ण पार्टी हो, यसले चाह्यो भने मुलुकमा उथलपुथल हुन्छ, सहमतिको वातावरण बनाउन सक्छ, यसका नेताहरू १ सय १ छन् भन्ने तथ्यलाई प्रचण्डले स्विकारेकाले अब उपचार गर्नुपरेन ।’ राजनीतिक आरोपको अराजनीतिक प्रतिवादको ल्यान्डिङ त भयो । प्रचण्डले फकाइफुलाइ गरेपछि नेपाल फुलिए । ज्ञान वा चेतले उनी ट्र्याकमा आएका हैनन् ।

कम्तीमा नेपाल वा शीर्ष आसनमा बसेका अरू दलका नेतालाई चेतना हुनुपर्ने हो– मण्डेला वा गान्धी मात्र होइन, गणेशमान, किसुनजी वा गिरिजाप्रसादले पनि राजनीतिमा निकृष्ट व्यक्तिगत गालीगलौजको सूत्र प्रयोग गरेनन् । cp. setopati.com