लोमान्थाङमा विद्युतीकरण अण्डरग्राउण्डको योजना

लोमान्थाङ(मुस्ताङ), २६ असोज/ मुश्किलले विजुली बढीमा एक घण्टा मात्रै आउँछ । त्यही एक घण्टाको बीचमा विद्युतीय काम टुग्याउनुपर्ने बाध्यता छ । नभए जेनेरेटर चलाउनुको विकल्प छैन् । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा लोडसेडिङको पीडा उस्तै छ ।

चिसो मरुभूमी लोमान्थाङमा वर्षेनी पर्यटक उक्लिदैं गएका छन् । तर अध्याँरोले सताउने गरेको छ । अध्याँरोमुक्त गर्ने अभियान योजना गण्डकी प्रदेश सरकारको छ । २९ किलोवाटको विद्युत उत्पादन हुदैं आएको छ । उत्पादित विजुलीले घर घरमा बत्ती बाल्न समेत पुग्ने अवस्था छैन् । दशक अघि एक्याप, अमेरिकम हिमालयन फाउण्डेशन र स्थानीयबासिन्दाको संयुक्त लगानीमा निर्माण गरिएको विद्युतगृहले जेनतेन गुजारा भने गर्दै आएका छन् ।

अहिले बस्ती बाक्लिएको छ । १४० घरपरिवार छन् । ८ सय भन्दा बढी जनसंख्या छ । लोमान्थाङको पनि विभिन्न ठाँउमा बत्ती अझै पुगेको छैन् । मैनबत्तीको भरमा जीवन गुर्जानुपर्ने बाध्यता अझै छ । ‘मुस्ताङको मुक्तिक्षेत्र गाँउका ७ वटा वडामा अझै बत्ती पुगेको छैन्।’ गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले भने–‘सबै ठाँउमा विद्युतीकरण गर्नुपर्ने छ ।’

उनले विद्युत अभावको समस्या सुल्झाउन एक घर एक सोलारको अभियान थालेका छन् । सोलार बत्तीको लागि एक वडालाई १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ । ‘मुस्ताङ हेरिटेज सेन्टर हो । हेरिटेज सेन्टरमा विद्युतीकरण गर्दै उज्यालो बनाउने योजनामा छौं ।’ उनको भनाई थियो–‘त्यसको लागि गण्डकी प्रदेश सरकारले प्रदेशका ११ जिल्लालाई ४० करोड छुट्टाएको छ । जसमध्ये साढे तीन करोड मुस्ताङलाई पर्ने छ । त्यही बजेटबाट काम अघि बढाईने छ ।’

गण्डकी प्रदेश सरकारले बजेट उपलब्ध गराउने विषयमा ठोस निर्णय भने भईसकेको छैन् । ११ जिल्लामा विद्युतीकरणको लागि ४० करोड रुपैयाँको योजनासहित रातो किताबमा उल्लेख गरिएको सदस्य विष्टले सुनाए । ‘सोलारको लागि टेण्डर आह्वान भईसकेको छ ।’ विष्टले भने–‘केन्द्रबाट पनि विद्युतीकरणको लागि सामान खरीद गर्ने काम अघि बढेको छ ।’ सोलार जडानपछि गाँउ उज्यालो हुने छ ।

लोमान्थाङमा विद्युतीकरण गर्नको लागि केन्द्रीय विद्युत प्राधिकरणले पनि चासो दिएको छ । विद्युत प्रशारण लाईनको लागि केन्द्रीय विद्युत प्राधिकरणले १ करोड १३ लाख रुपैयाँ बजेट छुट्टाएको छ । छुट्टाईएको बजेटले विद्युत नपुगेको वडाहरुमा विद्युत पोल विस्तार गरिने छ । कतिपय ठाँउमा विद्युत पोल पुगेपनि प्रशारण लाईन भने तानिएको छैन् ।

उनले लोमान्थाङको मुख्य बस्ती क्षेत्रसँगै अन्य विभिन्न वडाहरुमा विद्युतीकरणसँगै विजुलीको तारलाई अण्डरग्राउण्ड गर्ने योजना समेत रहेको सुनाए । ‘विजुलीको तारहरु सबै अण्डरग्राउण्ड गर्दै छौं ।’ उनले भने–‘त्यसको लागि चोक चोकमा ग्राउण्डेड गरेर तार विछ्याई घर घरमा सप्लाई गर्ने ठाँउहरु बनाईसकिएको छ ।’ उनले बस्तीको वरिपरी झण्डै २ किलोमिटर क्षेत्रमा अण्डर ग्राउण्ड गरिने जनाए । ‘विजुली तारको गुजुल्टोले ‘लुकिङ कुरुप’ देखिन्छ ।’ उनको भनाई थियो–‘त्यसैले पनि तारलाई अण्डर ग्राउण्ड गर्ने योजना छ ।’

लोमान्थाङका मुखिया ज्ञानेन्द्र (घिर्मी वाङ्गेल) विष्टले पनि सामरिक महत्वको लोमान्थाङ क्षेत्रका सबै वडाहरुलाई विद्युतीकरण गर्नुपर्नेमा जोड दिए । ‘विद्युतीकरण गर्दै उज्यालो अभियान गर्दै छौं ।’ उनले भने–‘उज्यालो नै विकासको प्रतीक हो । त्यसैले विद्युतीकरण तर्फ ध्यान दिएका छौं ।’ स्थानीय युवा छोवाङ गुरुङले पनि लोमान्थाङमा विद्युतको समस्या रहेको उल्लेख गरे । सबै क्षेत्रमा विजुलीको पहुँच पुर्याउन सकिए लोमान्थाङको विकास र विस्तारमा नयाँ आयाम हुने उनको भनाई थियो ।

उत्तरी चीनको नाका कोरलादेखि लोमान्थाङ हुदैं मुस्ताङको जोमसोम, बेनीदेखि पोखरासम्म सडक सञ्जालले छोईसकेको छ । विद्युतीकरणसँगै उत्तरी नाका खोल्न सकिए आयात निर्यात सहज हुने थियो । लोमान्थाङमा यतिबेला सडक सञ्जाल विस्तार गरिएको छ । लोमान्थाङ वरिपरी सडक विस्तार गरिएको छ ।

लोमान्थाङमा रिङरोड, छोनुपहुदैं लोघेकर–दामोदरकुण्ड, लोमान्थाङ–लामास्युङ–सामजुङ सडक खण्ड, लोघर–दामोदरकुण्ड–धेताङ सडक खण्ड विस्तार गरिएको छ । त्यसको लागि प्रदेश सरकरले बजेट उपलब्ध गराएको छ । गाँउपालिकासँगको साझेदारीमा सडक विस्तारसँगै लोमान्थाङमा विद्युतीकरण गर्ने योजनालाई सार्थकता प्रदान गर्न प्रदेश सदस्य विष्ट भने अहोरात्र खटिएका छन् ।

कमेन्टहरु
Loading...