भारतको गंगा नदी किनारमा लागिरहेको कुम्भ मेलामा महास्नान हुँदै

एजेन्सी, माघ २७ । भारतको गंगा नदी किनारमा लागिरहेको विश्वकै सबैभन्दा ठूलो पर्वका रुपमा मानिने कुम्भ मेलाको मूख्य दिन आज महास्नानका लागि करोडौं भक्तजन पुगेका छन् । आज आमावस्या अर्थात् औसी तिथि परेकाले आजका दिन गंगा स्नान गर्दा धर्म प्राप्त हुने र पाप नष्ट हुने विश्वासका साथ भक्तजन गंगा किनारमा पुगेका छन् ।आजै मात्र तीन करोडले स्नान गर्ने अनुमान गरिएको छ । माघ २ गतेबाट शुरु भएर झण्डै तीन महिना चल्ने यस कुम्भ मेलामा गुरु तथा साधुसहित करिब १० करोड तीर्थ यात्रु गंगा र यमुना नदीको तीरमा भेला हुने अनुमान छ । हिन्दू पवित्र धार्मिक स्नानसँग सम्बन्धित कुम्भ मेला गंगा तीरमा अवस्थित उत्तर भारतमा ५५ दिनसम्म चल्नेछ ।

तीर्थयात्रीहरु यो मेलामा गंगामा स्नान गरे आफ्नो पाप पखालिने विश्वास गर्छन् । कुम्भ मेलामा आउने सबै तीर्थयात्रीलाई नुहाउने अवसर मिलाईएको छ । सन् २००३ मा पश्चिमी नगर नासिकमा आयोजना गरिएको कुम्भ मेलामा ४५ जनाको मृत्यु भएको थियो । इलाहावादमा सन् २००१ मा भएको कुम्भ मेलामा ११ करोड तीर्थयात्रीले भाग लिएका थिए ।

यसवर्ष प्रतिदिन २० लाख तीर्थयात्री नगर प्रवेश गर्ने अनुमान गरिएको थियो । मेलाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ गरिएको छ । सात हजार बस तथा ७ सय ५० ओटा रेलले तीन प्रमुख स्नान स्थलबाट तीर्थयात्री ल्याउने र लैजाने काम गरिएको छ । नागा र हातमा त्रिशूल लिएका साधुको ठूलो भीड एकै पटक गंगामा प्रवेश गर्दा मेलाको रौनक नै फेरिन्छ ।

 

कमेन्टहरु
Loading...