कसले राख्यो कार्टरको गाडीमा हतियार ?

१७ चैत काठमाडौं । शुक्रबार नेपाल आएका अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर आफूलाई विश्वशान्तिका अभियन्ता भन्न रुचाउँछन् । उनैका नाममा खुलेको ‘कार्टर सेन्टर’ले विश्वका धेरै देशमा शान्ति र लोकतन्त्रका लागि काम पनि गरिरहेको छ । नेपाल आउँदा कार्टरलाई सबैले सत्कार गर्छन् र गरिरहेका पनि छन् । तर, नेपाल प्रहरीको आधिकारिक वेभसाइटमा भने शान्तिका दूत अमेरिकी पूर्वराष्ट्रपति कार्टरको सवारी चलाउन ठिक्क पारेको गाडीमा विगतमा रहस्यमय तरिकाले हतियार फेला परेको तथ्य अहिलेसम्म मेटिएको छैन ।

सन् २००८ अपि्रल ६ देखि १४ सम्म ८ दिन नेपाल बसेका कार्टरले देशका विभिन्न भागमा संविधानसभा निर्वाचनको प्रत्यक्ष अनुगमन गरेका थिए । त्योभन्दा ४ महिनाअघि सन् २००७ नोभेम्बर २० देखि २४ सम्म उनले नेपालको भ्रमण गरेका थिए । संविधानसभा चुनावपूर्व ०६४ मंसिर ४ देखि ८ गतेसम्म नेपाल बसेका शान्तिका हिमायती जिम्मी कार्टरको बसाइ सोल्टी होटलमा थियो । त्यहीबेला नेपाल प्रहरीका स्निफर कुकुरहरुले एकाएक सोल्टी होटलको प्राङ्गणमा रहेको कार्टरले प्रयोग गर्ने कार्गेड गाडी सुँध्न थाले । तत्काल प्रहरीहरुले गाडी खोलेर हेरे, जहाँ गाडीभित्र लुकाइराखेको हतियार फेला पर्यो ।

आफूलाई शान्ति दूत बताउने पूर्वराष्ट्रपति कार्टरको गाडीमा त्यसरी हतियार फेला परेको घटनालाई नेपाल प्रहरीले अपराध अनुसन्धानमा पाएको सफलताका रुपमा लिएको छ । नेपाल प्रहरीको आधिकारिक वेभसाइटमा कुकुरको माध्यमबाट गरिएका सफल अनुसन्धानहरुको सूचिमा अन्य आपराधिक घटनासँगै कार्टरको गाडीमा हतियार भेटिएको घटनालाई पनि महत्वका साथ राखिएको अहिले पनि सहजै हेर्न सकिन्छ ।

मंसिरमा झण्डै हतियारधारी गाडी चढेका कार्टर सोहीसालको चैत्रमा निर्वाचन हेर्न नेपाल आए । त्यसबेला भने उनको गाडीमा कसैले हतियार फेला पारेन । तर, चुनाबको परिणाम आएपछि कांग्रेस र एमाले लगायतका दलहरुले संविधानसभाको निर्वाचन निश्पक्ष हुन नसकेको भन्दै गुनासो पोखे । कार्टर सेन्टरले चाँहि चुनावमा धाँधली भएको नपाइएको र शान्तिपूर्ण रुपमा सम्पन्न भएको रिपोर्ट दियो, जसले उनले गरेको अनुगमनको निश्पक्षतामाथि केही नेताहरुले गुनासो गरे । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आयोगबाट राजीनामा दिएर अमेरिकाको हारवर्ड युनिभर्सिंटीमा अध्ययन गर्न गएका बेला जिम्मी कार्टरलाई भेट्दा कार्टरले समेत पोखरेलसँग यसविषयमा कुरा उठाएको चर्चा उतिबेलै चलेको थियो ।

चुनाव हुने सुन्नासाथ नेपाल आउने गरेका कार्टर यसपालि पनि संविधानसभाको निर्वाचन हुन लागेको सुनेपछि आएका हुन् । ‘अपि्रल फूल’का दिन पत्रकार सम्मेलन गरेपछि उनी म्यानमार जाने कार्टर सेन्टरले जनाएको छ ।  cp. onlinekhabar.com

कमेन्टहरु
Loading...