हेमराज पहारी स्मृति पुरस्कारबाट संस्कृतिविद्, साहित्यकार सत्यमोहन जोशीलाई

पोखरा, १९ फागुन । हेमराज पहारी स्मृति पुरस्कार–२०६९बाट संस्कृतिविद्, साहित्यकार सत्यमोहन जोशी सम्मानित भएका छन् । पुरस्कारको राशी नगद रु एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता पहारीले शुक्रबार यो पुरस्कार जोशीलाई प्रदान गरिन ।

साहित्यकार, समाजसेवी, शिक्षासेवी स्वर्गीय हेमराज पहारीको स्मृतिमा यो प्रतिष्ठान वि. स. २०६७ मा स्थापना भएको हो । पहारीका उत्तरी गोलाद्धको एक फन्को नियात्रा संग्रह र देशको अभिभारा कविता संग्रह गरी दुई कृति प्रकाशित छन् । पुरस्कृत भए पछि बोल्दै जोशीले कास्की, लमजुङ र तनहुँमा आफूले जागिर जीवन बिताउँदा लोक संस्कृतिको संरक्षणमा लाग्ने प्रेरणा मिलेको बताएका थिए । पुराना दिन सम्झिदै उनले भने–‘टेप रेकर्डर र क्यामेरा भएको भए धेरै काम गर्न सकिन्थ्यो ।’

स्थापना भएपछि पहिलो पटक आफूले पाएको मदन पुरस्कार र हेमराज पहारी स्मृति पुरस्कार दुबै महिलाको हातबाट ग्रहण गरेको उल्लेख गर्दै उनले एकेडमीले गर्ने काम व्यक्ति र संस्थाले गर्नु प्रशंसनिय भएको धारणा राखे । नेपाली साहित्य र संस्कृतिमा विदेशी प्रभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने–‘गाउँघरका यथार्थ र जीवन दर्शन सिर्जनामा आउनु पर्छ नत्र वाङ्मयको यात्रा अगाडि बढ्दैन ।’

प्रतिष्ठानका सदस्यसमेत रहेका प्राज्ञ सरुभक्तले पुरस्कृत व्यक्तित्व सत्यमोहन जोशीको परिचय प्रस्तुत गरेका थिए । नेपाली साहित्य र संस्कृतिको जीउदो ईतिहास जोशीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको उनले बताए । साझा प्रकाशन वोर्डका सदस्य अनिल पौडेलले साहित्यकार हेमराज पहारीको यात्रा संस्मरणात्मक पुस्तक ‘उत्तरी गोलाद्धको एक फन्को’ चाडै साझा प्रकाशनले बजारमा ल्याउन लागेको जानकारी दिए ।

अध्यक्ष पहारीले आफ्ना श्रीमानको योगदान र सपनालाई साकार बनाउनु नै आफ्नो जीवनको लक्ष्य भएको बताईन । उनले भनिन्–‘जीवन नै उहाँले गर्न चाहेको काम पूरा गर्नेतिर लगाउँछु ।’ सो अवसरमा साहित्यकार तीर्थ श्रेष्ठ, शिक्षाविद् जर्ज जोन, मानवअधिकारवादी नेता टेकनाथ बराल, नेपाल पर्यटन बोडैका सदस्य टीकाराम सापकोटा, प्रा. डा. रविलाल अधिकारी, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाले बोलेका थिए ।

आफ्ना पति साहित्यकार हेमराज पहारीको स्मृतिमा उनले रु १५ लाखको अक्षय कोष स्थापना गरी पुरस्कारको स्थापना गरेकी हुन । यो पुरस्कार नेपाली साहित्य, संस्कृति, शिक्षा, समाजसेवा एवम् पर्यटन क्षेत्रमा राष्ट्रिय स्तरमा उल्लेखनिय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई दुई वर्षमा प्रदान गर्ने गरिन्छ ।

पुरस्कृत व्यक्तित्व जोशी नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विज्ञ मानिन्छन् । वि. स. १९७७ मा ललितपुरको बंकुबहालमा जन्मिएका जोशी नेपाल प्रज्ञा प्रतिष्ठानका आजिबन सदस्य र नेपाल भाषा एकेडेमीका कुलपति छन् । साहित्य र संस्कृतिको विषयमा जोशीका साढे तीन दर्जन कृतिहरु प्रकाशित छन् ।  संस्थाकी अध्यक्ष रीता पहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शान्ता घिमिरे र स्वागत उपाध्यक्ष गोविन्दराज पहारीले गरेका थिए ।

कमेन्टहरु
Loading...