दर्शकको रोजाईमा रहेका फिल्महरु

रेम बिक
पोखरा, ५ फागुन/नेपाली फिल्म उद्योग अहिले नराम्ररी थला परेको छ । फिल्म बन्छन्, हलमा लाग्छन् तर दर्शकले हेर्दिदैनन् । लाखौँ खर्च गरेर निर्माण गरिएका फिल्महरुले पनि हजारको व्यापार गर्न नसक्ने अहिलेको स्थिती छ । यसरी फिल्म चल्न छोडेपछि निर्माताहरुको ढाड पनि राम्रैसंग सेकिने गरेको छ । फिल्मको व्यापारमा मन्दी छाएपनि नेपाली फिल्म उद्योगमा नयाँ फिल्म बन्ने क्रम भने अझै रोकिएको छैन । नयाँ कलाकार र नयाँ कन्सेप्ट भन्दै फिल्म बनाउनेहरुको ओईरो लागेकै छ । त्यति त ठिकै भयो, अझै एक सुको हातमा नपरेको निर्माताले ‘मेरो फिल्मले त बबाल व्यापार ग¥यो’ भनेर फुँई लाउन पनि छोड्दैनन् ।

पछिल्लो समय केहि त्यस्ता नेपाली फिल्महरु बजारमा आए जो दर्शकले हेर्न लायकका थिएनन् । न उनीहरुको प्रचारशैली राम्रो थियो न त फिल्म नै । कास्टिङ, फिल्मको टिम, स्टोरीलाईन, प्रविधि सबैसंग नेपाली दर्शकहरु जानकार बन्दै गएपछि उनीहरुले अहिले छानेर मात्र फिल्म हेर्ने गरेका छन् । अहिले त यस्तो भैसक्यो कि नेपाली दर्शकहरु पहिला फिल्मको समिक्षा सुनेर अथवा पढेर मात्र हलसम्म जाने कि नजाने निधो गर्न थालेका छन् ।

केहि समय अगाडी यस्तै परिस्थितीले नेपाली फिल्म उद्योगलाई गाँजेको थियो । कुनै पनि नेपाली फिल्मले आफ्नो लगानी रकभर गर्न सकेका थिएनन् । ठिक त्यहि बेलामा एउटा फिल्म आएको थियो, ‘लुट’ । लुटले तत्कालिन समयमा यस्तो जादुमय तरिकाले व्यापार ग¥यो की वर्षौँदेखि फिल्मको व्यापार गरिरहेका उत्साद व्यापारीहरुलाई पनि अचम्मीत बनाईदियो । लुटसंगै लगत्तै हलहरुमा आएको अर्को फिल्म चपली हाईटले पनि राम्रै व्यापार ग¥यो । त्यसपछि कुनै त्यस्तो फिल्म छैन जो आफ्नो लगानी सुरक्षित गरेर हिटको दर्जामा आफुलाई उभ्याउन सके । फिल्म निर्माता तथा हल संचालक प्रदीप उदय भन्छन्–‘लुट र चपली हाईट पछि अहिलेसम्म आउँदा बिन्दास र मालतीको भट्टीले मात्रै आफ्नो लगानी सुरक्षित गरेका छन्, नत्रभने अरु सबै फिल्म डब्बाप्याक ।’

नेपाली फिल्म उद्योगमा सबै फिल्महरु डब्बाप्याक हुने खालका बन्ने भने पक्कै होईन । कुनै कुनै बेला राम्रा फिल्महरु पनि बन्छन् । तर कतिपटक धेरै नराम्रा फिल्महरुको माझमा पर्दा राम्रा फिल्मले पनि पानी माग्न पाउँदैनन् । अहिले पनि फिल्म व्यवसायिक हिसाबले राम्रो छैन तर केहि त्यस्ता फिल्महरु छन् जुन फिल्मबाट दर्शकसंगै फिल्म उद्योगले नै केहि आशा लिएको छ । पाँचवटा त्यस्ता फिल्महरु जो दर्शकको पर्खाईमा छन् ः

१, छड्के

छड्के फिल्मको बारेमा अहिले निकै चर्चा छ । सामाजिक संजाल फेसबुक, युट्युब र ट्वीटरमा यसको बारेमा खुबै टिप्पणी भैरहेको छ । फागुन ११ गतेदेखि अलनेपाल रिलिज हुने यो फिल्मको निर्माण टोली पनि ब्लकबस्टर ‘लुट’को हो । माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यो फिल्मका निर्देशक निगम श्रेष्ठ हुन् । निगमले यसअघि लुट फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका थिए । फिल्ममा चर्चित रक गायक रविन तामाङ, नम्रता श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई लगाएतका कलकारहरुको अभिनय रहेको छ । फिल्ममा १ करोड माथिको लगानी रहेको निर्माण टोलीले जनाएको छ ।

२, वधशाला

वधशाला मनोज पण्डितले निर्देशन गरेको पछिल्लो नेपाली फिल्म हो । फिल्म समिक्षक समेत रहेका पण्डितले बनाएको यो फिल्म नेपाली सेनाको पोशाक सम्बन्धि विवादमा तानिएर पनि चर्चित छ । युद्धकालमा शाहि सेनाको क्याम्पमा बेकसुर मान्छेहरुलाई दिईने यातनालाई मुख्य विषय बनाएर फिल्म तयार पारिएको यसका निर्देशक मनोज पण्डितले बताएका छन् । यो फिल्ममा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

३, साँघुरो

साँघुरो फिल्म कलेज बाट पास आउट भएका विद्यार्थीहरुको प्रोजेक्ट हो । यौनकुण्ठालाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको यो फिल्मलाई पनि दर्शकहरुले विशेष मानेर पर्खिरहेका छन् । केहि फिल्ममा कलाकारसमेत भएर अभिनय गरिसकेका जोयस पाण्डेले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा दिया मास्के, सुशांक मैनाली लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म अब चाँडै नै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

४, मञ्जरी

मञ्जरी लभ स्टोरी बेसको फिल्म हो । चरित्र अभिनेता टिका पहाडीको छोरा गौरब पहाडी यसै फिल्ममार्फत रजतपटमा डेब्यु गर्दैछन् । फिल्मलाई ‘मालतीको भट्टी’ निर्देशक गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । सुटिङकै क्रममा विभिन्न घटना परिघटनामार्फत यो फिल्म चर्चामा रहेको छ । केहि दिन अगाडी यसै फिल्मको प्रचारप्रसार स्वरुप यसको निर्माण युनिट देश दौडाहामा समेत निस्केको थियो । फिल्मको फस्ट लुक र गीतले दर्शकहरुलाई यो फिल्म हेर्न आकर्षित गरिरहेका छ ।

५, अन्तराल

अन्तराल जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म हो । यो फिल्ममा प्रायजसो सबै नयाँ अनुहार रहेको छ । महिला निर्देशक दीपा बस्नेतले निर्माण गरेको यो फिल्मले पनि दर्शकहरुलाई केहि आकर्षित गरिरहेको छ । विभिन्न कालखण्डमा हुने गतिविधिलाई फिल्मले उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको यसको निर्माण पक्षले जनाएको छ । फिल्ममा मानव सुवेदी, नम्रता सापकोटा, कमलमणी नेपाल, राजकुमार पुडासैनी, अशिष्मा नकर्मी, घनुभाई जोशी, लोकन्द्र लेखकको साथमा पुर्व मिस नेपाल रुवी राणाको समेत अभिनय हेर्न सकिनेछ ।

नोट ः यी सबै फिल्महरुलाई सामाजिक संजाल फेसबुक र यु ट्युबमा गरिने लाईक र शेयरको आधारमा दर्शकको उत्कृष्ठ पाँच रोजाईमा राखिएको हो ।

कमेन्टहरु
Loading...