दरबार हत्याकाण्ड दीपेन्द्रबाट भएको कसैले पत्याउँदैन : विवेककुमार शाह

यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौं तरङ्गहरु जन्मायो । मैले तुरुन्तै अन्नपूर्ण एडीसी अफिसमा फोन गरेँ । त्यहाँ फोन उठेन । त्यसपछि मलाई ‘समथिङ इज रङ’ भन्ने लाग्यो । तुरुन्तै म सबै कार्यक्रम छाडेर ‘राजदरबार जान्छु’ भन्ने भनेर निस्किएँ । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौं, एकदमै हताश र आत्तिएको स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशब महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइपर्यो, तपाई तुरुन्तै सैनिक अस्पताल आउनुपर्‍र्यो ।

birendraत्यति बेला हामी सोह्रखुट्टे आइसकेका थियौं । त्यहीँबाट हामी तुरुन्तै गाडी मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौं । त्यसलगत्तै समारोह प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहाँको स्वर पनि निकै आत्तिएको र हताश थियो । ‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिनँ । सायद तपाईलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि ?’ भन्नुभयो । मैले ‘सर, मलाई तुरुन्तै वीरेन्द्र अस्पताल आउनु भन्ने खबर आएको छ,’ भनेर फोन राखिदिएँ । डा. दुमनले मलाई सैनिक अस्पतालमा छोडि दिनुभयो र उहाँहरु र्फकनुभयो ।

९ बजेर ३५/३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधान सेनापति प्रज्वलशमशेर जवरा पनि आइसक्नुभएको रहेछ । त्यसबेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै जनालाई मलाई नै ‘के भो ?’ भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटिमा प्रमुख एडीसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिएँ, उहाँसँग जम्काभेट भयो । त्यही टीका धमला जर्सावसँग पनि भेट भयो । उहाँहरु दुबैले ‘सर, खत्तम भयो, खत्तम भयो मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहाँ कल्पनै नगरेको कारुणिक दृश्य देख्नुपर्‍यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य । जता हेर्‍यो, उतै क्षत-विक्षत र रक्ताम्मे शरीरहरु मात्र ढलेका थिए । वीरेन्द्र सरकार, बडामहारानीको क्षति-विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरन्द्र सरकारलाई बताउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसममा कहीँकतै होस थिएन । मैले पनि मौसुफको नाडी छामेँ । शरीरमा अलिकति मात्र तातो बाँकी थियो । सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्सँदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरेँ ।

दीपेन्द्रको चरित्र र जेठ १९ को भित्री रहस्य

जेठ १९ को त्यो कालो रातले राजा वीरेन्द्रको वंश नाश गरायो भने नेपालमा राजसंस्थाको इतिहासकै अन्त्य गरायो । त्यस रातको घटनाबारे आजसम्म पनि विभिन्न किसिमका अडकलबाजी हुँदै आएका छन् । त्यो घटना कसले गरायो ? कसरी भयो ? र, किन गराइयो ? यस्ता धेरै प्रश्नहरु अनुत्तरित छन् ।

संसारलाई नै स्तब्ध पार्ने यो हत्याकाण्ड दुनियाँको नजरमा लोकपि्रयताको शिखरमा चढिरहेका तत्कालीन युवराजधिराजबाट भएको हो भनेर सामान्यतः कसैले पनि पत्याउँनै सक्दैन । म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्दथेँ । मैले दीपेन्द्र सरकारको पूरै जीवन देखेको छु । मौसुफको व्यक्तित्व कसरी विकास हुँदै आयो, एकदमै नजिकबाट अनुभव र अध्ययन गरेको छु । सरकारको अस्वाभाविक उपध्रो, हठ, बदमासी, परपीडक स्वभाव, इगो, उपेक्षित भएको अनुभूति, माया-प्रेमको तृष्ण, भावुकता, महत्वाकाङ्क्षा, नैराश्य, आवेग, आदीलाई छर्लङ्ग देखेभोगेको छु ।

परपीडक स्वभाव दीपेन्द्र सरकारमा सानैदेखि देखिन्थ्यो । दरबारमा उडिरहेको परेवा गुलेली हानेर मार्न खोजिबक्सन्थ्यो । गुलेली लागेर परेवा भुइँमा खस्दथ्यो पनि । अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरिबक्सन्थ्यो । उडिरहेको कागलाई पनि गोली हानेर झार्ने । र, त्यसै गर्ने । कहिलेकाँकी जिउँदो मुसा समात्ने र पुच्छरमा आगो लगाइदिएर छोडिदिने । त्यसलाई तड्पाई-तड्पाई मार्ने ।

देवयानीसँगको सम्बन्ध दीपेन्द्र सरकारले नेपाल फर्केपछि पनि कायम गरिबक्स्यो । साथै सुपि्रयासँग पनि । देवयानीसँग ‘अफेयर’ भएको थाहा भएपछि सुपि्रयाको दीपेन्द्र कुनै गुनासो सुनिएन । देवयानी आधुनिक तथा खानदानी परिवारमा जन्मेकी, हुर्केकी र पढेकी पनि ।

केही अनुत्तरित प्रश्न

राजदरबार हत्या काण्ड हुनुभन्दा झन्डै बर्षदिनअघिदेखि शाही नेपाली सेनाको आधुनिकीकरणको कार्ययोजना बनिरहेको थियो । यस क्रममा पुरानो हतियार बदल्न अत्याधुनिक हतियार किन्ने र सेनाको प्रत्येक तहमा पुर्‍याउने योजना थियो । वीरेन्द्र सरकारबाट उच्च चासोका साथ यस प्रक्रियालाई अगाडी बडाइबक्सेको थियो । मुलुकमा माओवादी समस्या जटिल बन्दै जाँदा कुनै पनि बेला सेना परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने विश्लेषण गरेर यो आधुकिकीकरणको प्रयास सुरु गरिएको थियो । यसै सिलसिलामा नेपालले ‘अल्ट्रा मोडर्न’ हतियार एचके जी ३६ राईफल किन्ने प्रक्रिया अगाडी बढाइरहेको थियो । यो हतियार नेपालमै ‘एसेम्बल’ गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्नेसमेत योजना थियो । यसका लागि हतियार उत्पादक कम्पनी हेक्लर एण्ड कोकले समेत सहमति जनाइसकेको थियो । तर एचके जी ३६ राइफल खरिद गर्ने र नेपालमै ‘एसेम्बल’ गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मन परिरहेको थिएन् ।

यस्तै वीरेन्द्र सरकारबाट २०३१ सालमा सम्पन्न शुभराज्याभिषेकका अवसरमा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भनेर राखिबक्सेको प्रस्तावलाई संसारका सबैजसो महत्वपूर्ण ११६ देशले स्वागत र समर्थन गरेका थिए । तर भारतले यस विषयमा समेत नकारात्मक दृष्टिकोण राखेर समर्थन गरेको थिएन । यी त केही घटना मात्र हुन् ।

पूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ‘मैले देखेको दरबार’बाट

– See more at: http://www.onlinekhabar.com/2013/06/77677/#sthash.bNWJCanl.dpuf

कमेन्टहरु
Loading...