छोटो दूरीको सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा पनि बढ्यो

काठमाडौं, २५ असार / सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाएर सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण अनिवार्य गरेको छ । ट्याक्सी पनि चलाउन दिने निर्णय भएको छ ।

चालक बाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय गरेको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइएको उनले बताए ।

त्यसै गरि सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय गरेको छ । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन । लामो दुरीका सार्वजनिक यातायातका साधन भने सञ्चालन गर्न पाइने छैन ।

कमेन्टहरु
Loading...