बसमा छुटेको १० तोला सुन सहचालक चन्द्रबहादुर बुझाए

पोखरा, २८ भदौ /स्याङजा सिर्सेकोट ९ कि केशरी अधिकारी भदौ २४ गते शुक्रबार माइती गल्याङबाट बस चढेर घर फर्कदै थिइन् । माइतीबाट घर आउन गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग१ख ३४२० नम्बरको बस चढिन् ।

बुटवलबाट स्याङजा हुँदै पोखराका लागि आएको उक्त बसमा अधिकारीले गल्याङबाट बायाँटारीसम्मको यात्रा गरिन् । दिउसो करिब ३ बजे बस बायाँटारी आइपुग्यो । आफ्नो गन्तव्यतर्फ पाइला अगाडि बढाउन अधिकारी बसबाट झरिन् । बस पोखरातर्फ कुद्यो । उनी आफ्नो घरतर्फ लागिन् ।

अधिकारी जब घरमा पुगिन्, उनको होस हवास नै उड्यो । छाँगाबाट खसेजस्ती भइन् । नहुनु पनि कसरी जीवनमा दुःखजेलो गरेर कमाएको सम्पत्तीले जोडेको करिब १० तोला सुन हराएपछि । तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि झोलामा राखेकी थिइन् । सुरक्षाका लागि सुन राखेको झोला नै हराएपछि उनीमात्र होइन उनका घरपरिवार पनि दुःखी बने ।

बसमा छुटेको १० तोला सुन सहचालक चन्द्रबहादुर बुझाए
बसमा छुटेको १० तोला सुन सहचालक चन्द्रबहादुर बुझाए

झोला बसमा छोडिएको उनले घरमा पुगेपछि सम्झिन् तर बस नं। उनलाई याद भएन । कतिबजे गल्याङबाट चढेको र बायाँटारीमा कति बजे झरेँ भन्नेसम्म पनि उनले सम्झिन सकिनन् । अधिकारी परिवारले सुनको मायाँ मारिसकेका थिए । सुन राखिएको झोला छोडिएको बस साँझ जब पोखरा आयो बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारे । कुनै यात्रुले बसमा झोला छोडेको हुनसक्ने लागेर उनले झोला खोतले । झोलामा सुनैसुन देखिपछि उनलाई छटपटी भयो । कसरी सम्बन्धित व्यक्तिलाई झोला बुझाउने भन्ने सोच्न थाले ।

झोलामा केशरी अधिकारीको परिचय पत्रमा सम्पर्क नम्बर लेखिएको भएपनि उक्त नम्बरमा फोन लागेन । जति पटक फोन गर्दा पनि फोन अफको अफ । त्यसपछि उनी सरासर पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगे र आफूले फेला पारेको झोला बुझाइदिए । झोला छोड्ने अधिकारी परिवारलाई पत्ता लगाउन समितिका कर्मचारीहरु खटिए । यता अधिकारी परिवारले पनि झोला पाइने झिनो आशा बोकेर पोखरा बसपार्र्कमा सम्पर्क गरे । अधिकारी परिवारको पहिलो सम्पर्क थलबहादुर बरुवालसँग भयो । उनी एउटा बसका चालक थिए ।

बसमा छुटेको १० तोला सुन सहचालक चन्द्रबहादुर बुझाए
बसमा छुटेको १० तोला सुन सहचालक चन्द्रबहादुर बुझाए

उनले समितिमा अधिकारी परिवारको गुनासो सुनाइदिए । त्यतिबेलासम्म इमान्दार सहचालक क्षेत्रीले झोला ल्याएर समितिमा बुझाइसकेका थिए । समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन आग्रह गरे । सहचालक क्षेत्रीलाई नगदसहित सम्मान गरेर अधिकारी परिवारले करिब १० तोला सुनसहितको झोला सोमबार बुझेका छन् ।

‘म श्रम गरेर खान्छु । आफ्नो बेइमानी कहिल्यै पनि गर्दिन,’ सामान बुझाउने क्रममा भावुक हुँदै सहचालक चन्द्रले भने, ‘फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु ।’ बसका कर्मचारीहरु इमान्दार हुन्छन् भन्ने प्रमाण चन्द्रले प्रमाणित गरेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख वसन्त बास्कोटाले बताए । ‘चन्द्रबाट धेरैले पाठ सिक्नुपर्छ,’ उनले भने ।

हराएको सम्पक्ति पाउँदा निकै खुसी लागेको स्याङजाबाट सामान बुझ्न आएका केशरीका जेठाजू दयाराम पराजुलीले बताए । ‘हामी निकै खुसी छौं,’ उनले भने, ‘बसमा हराएको सामान फेला पर्दैन होला भन्ने लागेको थियो । तर फेला प¥यो । चन्द्र भाइ साह्रै इमान्दार कर्मचारी रहेछन् ।’ सामान फेला पार्ने क्षेत्री र समितिसम्म सम्पर्क गराइदिने बरुवाललाई सामान बुझ्ने क्रममा केही नगदसहित सम्मान गरिएको उनले जानकारी दिए ।

झोलामा मंगलशुत्र १ थान, औठी २ थान, चन्द्रमा, १ थान, पाउजु १ थान, खुट्टाचाँद औठी २ थान, बाला २ थान, चुरा २ थान, घडी १ थान र नगद ३ हजार ४ रुपैयाँ थियो ।

कमेन्टहरु
Loading...