बाग्लुङबाट सिधा दिल्लीका लागि बस सञ्चालनमा

सुरेन्द्र पौडेल
पोखरा, ७ असोज /मुक्तिनाथ जाने आउने भारतीय पर्यटकलाई लक्षित गरी बाग्लुङबाट दिल्ली जोड्ने सिधा बस सेवा सञ्चालनमा आएको छ । पोखराबाट दिल्लीका लागि बस सेवा सञ्चालन गरिरहेको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले बागलुङबाट सिधा दिल्लीका लागि पहिलो पटक बस सेवा सञ्चालनमा ल्याएको हो ।

मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारत सरकारको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोले संयुक्त रुपमा बस सेवा सञ्चालनमा ल्याएका हुन् । गत असार २७ गतेबाट पोखरा–दिल्लीका लागि पनि नियमित रुपमा नेपाल भारतमैत्री बस सेवा सञ्चालन भइरहेको छ ।

गत जेठ ३१ गते भारतको उत्तर प्रदेश परिवहन निगमको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राभल्सका अध्यक्ष अधिकारी र डिपो गाजियावाद प्रमुख पि।के। बोसबीच नेपाल भारत बस सञ्चालनका लागि ९ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताकै जगमा पोखराबाट दिल्ली र बागलुङबाट दिल्लीका लागि सिधा बस सेवा सञ्चालनमा आएको ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारीले जानकारी दिए ।

बागलुङबाट पहिलो चरणमा सातामा तीन दिन बस सञ्चालन हुने अधिकारीले जानकारी दिए । आइतबार, बुधबार र शुक्रबार बागलुबाट बस छुट्नेछ । धौलागिरी यातायात व्यवसायी समितिसँगको सहकार्यमा बागलुङबाट सुविधा सम्पन्न डिलक्स बस सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए । बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ हुँदै दिल्लीसम्म पुग्नेछ । बागलुङबाट दिल्लीका लागि सिधा बस सेवा सञ्चालनमा आएपछि दिल्लीबाट मुक्तिनाथ दर्शनका लागि आउने धर्मालम्बी तथा पर्यटकलाई र धौलागिरी क्षेत्रबाट दिल्ली जाने यात्रुलाई प्रत्यक्ष राहत पुगेको अधिकारीले बताए ।

बागलुङ दिल्ली बस सेवाको शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबहाक अध्यक्ष डोलनाथ खनालले शुभारम्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले बागलुङ–दिल्ली सेवाले दुवै देशको पर्यटन प्रवद्ध्रनमा योगदान पुग्ने बताए । महासंघका महासचिव सरोज सिटौलाले नेपालको यातायात क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखे । दुई देश जोड्ने गरी निजी क्षेत्रको अगुवाईमा सवारी सेवा सञ्चालनमा आउनु प्रशंसनीय रहेको उनले बताए ।

बाग्लुङदेखि नयाँ दिल्लीको बरफखानासम्म र बरफखानादेखि धौलागिरी अंचलको सदरमुकाम बाग्लुङ बजारसम्म गाडीहरु कुद्नेछन् । ४० सिट क्षमताको उक्त बस अति सुविधा सम्पन्न रहेको अधिकारीले जानकारी दिए । दिल्लीबाट बागलुङको लागि बस छुटिसकेको छ । बागलुङबाट दिल्ली करिब १ हजार ४ सय किलोमिटर दुरीमा पर्छ । बागलुङबाट दिल्ली जोड्ने गरी सञ्चालन आएको बस सेवाले दुवै देशको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने मोर्डन इराका सञ्चालक एवं पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए ।

नेपाल भारतमैत्री बस सेवाले नेपाल तथा भारत दुवै देशको पर्यटन प्रद्धर्वनमा सहयोग पु¥याएको मोर्डन इराका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । पोखरादेखि दिल्लीका लागि सिधा बस सेवा सञ्चालन भएपछि पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्यामा बृद्धि भएको अधिकारीले बताए । ‘बागलुङबाट दिल्लीका लागि सिधा बस सेवा सञ्चालनमा आएपछि अझ बढी पर्यटक बढ्ने हाम्रो विश्वास छ,’ उनले भने ।

दुई देशको मूख्य शहर जोड्ने गरी यातायात सञ्चालनमा आउनु प्रशंसनीय भएको पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा मोर्डन इराका सञ्चालक दामु अधिकारीले बताए । ‘भारतबाट नेपाल आउने तीर्थयात्री तथा पर्यटकलाई सहज हुनेछ,’ उनले भने । यो सेवाले मुक्तिनाथ दर्शनका लागि आउने तीर्थयात्रीको संख्या अझ बढ्ने उनको विश्वास छ ।

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको समयमा नेपाल र भारतका बीच सिधा सम्बन्ध जोड्नका लागि यातायात सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । भारतीय प्रधानमन्त्री मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाबीच नेपाल र भारतका प्रमुख शहरबाट सिधा बस सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार काठमाडौं–दिल्ली र काठमाडौं–बनारस, पोखरा–दिल्ली बस सञ्चालन भइरहेको छ । सोही सम्झौताकोे आधारमा बागलुङ दिल्ली बस सेवा पनि सञ्चालन भएको हो । मोर्डन इराका लागि अध्यक्ष केशवप्रसाद अधिकारी र सञ्चालकहरुमा एनकुमार साई, दामु अधिकारी, बिबेक गौतम, गणेश शर्मा, चक्रपाणि आचार्य, देवेन्द्र केसी, उमेश केसी, माधव गौतम, कृष्ण गैरे, टीकाराम अधिकारी छन् ।

कमेन्टहरु
Loading...