बाढीको यस्तो बितण्डा

काठमाडौं, असार ४ – अबिरल वर्षापछि आएको बाढीले देशभर बितण्डा मच्चाएको छ । महाकाली नदीको बाढीले दार्चुला, अछाम र बैतडीमा आधा दर्जनको ज्यान लिएको छ भने सयौं परिवार बिस्थापित भएका छन् । यसैगरि बाढीले देशका अन्य जिल्लामा पनि जनजीवन प्रभावित भएको छ ।

ppमहाकालीमा भीषण बाढी, ६ को मृत्यु, सयौ परिवार बिस्थापित

महाकाली नदीमा आएको भीषण बाढीले अछाम र बैतडीमा ६ जनाको मृत्यु भएको छ । अछामको कुन्तीबन्डाली गाविस ३ मिनेन्द्र बोगटीको घर भत्किँदा उनको पत्नी र छोरीको मृत्यु भएको हो ।बैतडीको सिद्धेश्वर-९ को खोलाखोड्पेमा पहिरोले घर बगाउँदा पुरिएका ५ जना मध्ये चार जनाको शव फेला परेको छ । सोमबार राति स्थानीय रामसिंह ऐरको घर पुरिादा पत्नी, छोरा, भाईबुहारी र भतिजा भतिजी पुरिएका थिए ।

२६ वर्षीया भाईबुहारी सीता, एक वर्षीय छोरा अर्जुन, तीन वर्षीया छोरी बिन्देश्वरी र ३४ वर्षीया पत्नी कलावतीको शव भेटिएको प्रहरीले जनाएको छ । १२ वर्षीया छोरा परमेश्वर फेला परेका छैनन् । प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्धारमा संलग्न छन् । भीषण वर्षाका कारण उद्दारमा कठिनाई भएको स्थानीय रेडक्रसकर्मी मोहन ऐरले बताए । यस्तै, सेती नदीमा पानीको सतह बढेपछि ढुंगाडमा ८ परिवार विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ ।

दार्चुलाको सदरमुकाम खलंगामा प्रशासनका आकस्मिक बैठक बोलाइएको छ । दार्चुलामा ११ सरकारी कार्यालयसहित ५९ घर बगाएको छ । दार्चुलाको डोजिजीबी भन्ने स्थानमा रहेको नयाँ झोलुंगे पुल आज बगाएको छ । उक्त स्थानमा रहेको पुरानो पुल हिजो बगाएको थियो । नेपाल भारत जोड्ने नाकाका उक्त पुल बगाएपछि त्यस क्षेत्रका जनता प्रभावित हुनेछन् । त्यस्तै, कञ्चनपुरको दोधारा र चाँदनी तथा भीमदत्त नगरपालिका ११ को भुजेला क्षेत्रका नदि किनारको बस्तीमा महाकालीमा आएको बाढी बस्न थालेपछि करिब १५० परिवार बिस्थापित भएका छन् ।

दोधारा गाविस ६ र ७ वडाका ४३ परिवार गएराति देखि बिस्थापित भई नजिकैको शारदा उच्च माविमा आश्रय लिएका छन् । त्यस्तै, चाँदनी गाविसका ६० परिवार सुरक्षित स्थानमा सरेका छन् । यता, भुजेलाका करिब ६० परिवार गएराति देखि नै बस्तीमा पानी पस्न थालेपछि आफन्तकहाँ र सुरक्षित स्थानमा सरेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी बिर्खबहादुर रावलका अनुसार कञ्चनपुरको बर्मदेवमा रहेको टनकपुर बाँध उच्च जाखिममा परेको छ । बाढीले बाँध कटान गर्न थालेपछि भारतीय पक्षबाट बाँधको मर्मत कार्य भइरहेको छ । बाढीले भुजेलाको जनज्योत प्रावि भत्काएको छ । त्यहाँका चार वटा पसलमा पानी पसेर क्षति पुर्याएको छ ।

यसैगरी, कुडा गाविस ५ सुन्दरपुर टोलमा बाढी बसेर ३० परिवार बिस्थापित भएका छन् । मंगलबार बिहान ७ बजे महाकालीको बवाब चार लाख ४० हजार क्यूसेक गरिएको छ । सोमबार साँझ जलस्तर केही घटेपनि रातिदेखि बाढी बढ्दै गएको छ ।  महाकालीको नदिको पिप्रैया घाटमा दुई दिनदेखि बाढीमा फसेका २ ट्रक, ४ ट्र्याक्टर , एक ट्रिपर र एक ढुंगा निकाल्ने मेशिन सोमबार राति बगाएको छ ।

यस्तै,  चार दिनदेखि परेको अबिरल बर्षाले डडेलधुरा भित्री मधेस क्षेत्रका तिन गाउँ महाकालीले बगाएको छ । ईलाका प्रहरी कार्यालय जोगुढाका प्रहरी निरीक्षक सूर्य चन्दले दिएको जानकारी अनुसार जोगबुढाको सरकुंणा , तातापानीकुंणा र शिर्ष गाविसको परीगाउँको मथिल्लो गाउा महाकाली ले बगाएको छ । सोमबार नै प्रहरीले जोखिममा रहेका गाउाका स्थानीयहरुलाई सुरक्षित स्थानमा पुगाएकाले कुनै मानवीय क्षति भने हुन नपाएको चन्दले बताए ।

तीनवटै गाउँका गरी ५२ परिवार अहिलेसम्म बिस्थापित भइसकेको  प्रहरीले जानकारी दिएको छ । यस अघि २०६२ सालमा ३२ जनाको ज्यान जाने गरी बाढीले बगाएको लदौली गाउँमा पुन बाढी आएपछि गाउँलेहरुले गाउँ छाडेका छन् । स्थानीय वासिन्दा हरिबहादुर बोहराले टेलिफोनमा दिएको जानकारी अनुसार सबै स्थानीयहरु नजिकैका रुपाल गाविसमा पर्ने गुयला लेकमा पुगका छन् ।

 मुस्ताङका दुई गाउँ डुबानको खतरामा

हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनदेखि परेको अविरल वर्षाले  दुई गाउँ डुबानको खतरामा परेका छन् । पानी नपर्ने हिमालपारीको यो जिल्लामा पानी परेपछि खोला बढेर मार्फा गाउँ  र  कागबेनीको  पिरी गाउँ माथिको खोला पसेर खतरामा परेको  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका जोमसोम प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।  उनका अनुसार पिरीमा ९ वटा गोठ बगाउनुका साथै दुई घरमा क्षति पुगेको छ ।  स्याउबारीमा समेत पिरी खोलाले क्षति पुर्याएको छ ।  उनका अनुसार  हिउ नपर्ने यो मौसममा पानी परेपछि डाँडाकाँडा सबै हिउले ढाकिएको छ ।   पानी र हिउ परेपछि हिमालपारीको जनजीवन सबै अस्तव्यस्त बनेको  शेरचनले बताए ।

जिल्लाको उपल्लो भेगमा कत्ति पानी नपर्ने भए पनि पानी पर्न थालेपछि  माटोका घर चुहिने खतरा बढेको छ ।  मार्फा तथा पिरीमा नेपाली सेना, सशस्त्र, जनपद तथा स्थानियबासी मिलेर जोखिम कम गराउन उद्धारको काम गरिरहको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा गौतमले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा वर्षाको मात्र बढनुका साथै हिउ पनि परेकाले अझै खोला बढेर क्षति पुग्न सक्ने  गौतमले बताए ।

कर्णालीको बाढीले १ हजार ५ सय घर डुबानमा

बर्दियाबाट बग्ने कर्णाली नदीमा आएको भीषण बाढीले करिब एक हजार ५ सय घर डुवानमा परेको छ । जिल्लाको राजापुर टप्पुस्थित दौलतपुर गाविसको सोनाहा, मुर्गवा, नवरंङ्गामा बाढीबाट करिब सात सय बढी परिवार घर छाडेर सुरक्षित स्थानमा गएकाछन् ।

उनीहरु स्थानीय नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय र आफ्न्तकहाँ आश्रय लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक यमुना रजकले जनाएका छन् । बाढीले दौलतपुर स्थित नदी कटान रोक्न बनाउदै गरेको बाँध पनि बगाएको छ । बाढीले राजापुर गाविसको मुक्त कमैया बस्ती छेदियाका ६ सय बढी घरमा बाढीको पानी पसेको छ । उनीहरु सबै ज्यान जोगाउँदै नजिकका विद्यालय र आफ्न्तकहाँ शरण लिएको राजापुरका व्यवसायी सुर्य केसीले बताए । बाढीले राजापुर टप्पुको एघार गाविस मध्ये नौ गाविस डुवानको जोखिममा रहेको छ ।

खैरीचन्दनपुर गाविसको मजरामा करिब १ सय ५० घरपरिवार उच्च जोखिमा रहेको प्रहरीले जनाएको छ । बाढीले केही रुखमा र घरको छतमा गुहार माग्दै गरेको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । लगातारको पानी र बाढीले उद्दार गर्न कठिनाई भएको स्थानीय प्रशासनले जनाएको छ । त्यसक्षेत्र डुङ्गा समेत चल्ने स्थिति नरहेकोले हेलिकोप्टरबाट उद्दार गर्न गृह मन्त्रालयमा जानकारी गराएको प्रनाउ रजकले जनाए ।

राजापुर टप्पुको एघार गाविस जोड्ने ३२ केभीको हाईटेन्सन लाईनको पोल बगाउादा विद्युत आपुर्ती ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलका अनुसार टावर ढलेका कारण पानी रोकिएपछि मर्मत कार्य हुने बताए ।
कालिकोटमा १३ जना बेपत्ता

कालिकोटको सान्नीगाड खोलामा सोमबार राति आएको बाढीले बगाउँदा १३ जना बेपत्ता भएका छन् । सिप्खानामा गएको पहिरोले एक जनाको मृत्यु भएको छ । घटनास्थल सदरमुकाम मान्मबाट १३ कोस पश्चिम उत्तर पर्छ ।

तीन दिनदेखिको अविरल वर्षापछि मेहलमुडी, मुम्रा र सिप्खानाको बीचमा बग्ने शान्नीगाड खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा खोला वारि मेहेलमुडी ४ डंखुलो बजारमा सुतेका मेडिकल संचालक मनबहादुर शाही, थिर्पू घर भएका हुरेन्डेकका प्राविधिक टक्कवहादुर बम, फूकोट घर भएका भएका ओभरसियर कृष्ण न्यौपाने, छन् ।

यस्तै  सिप्खाना २ चोक्टेबजारमा सुतेका सत्यबहादुर शाही उनकी पत्नी सरिता, उनीहरुका ५ वर्षका एक छोरा र ३ वर्षकी एक छोरीसहित ४ जना, मुम्रा १ की कला थापा, सिप्खानाका चंचला शाही, हिमचुला शाही, २३ वर्षीया कमरा शाही र उनकी १० महिनाकी छोरी र सिप्खाना २ का भुपेन्द्र शाही छन् । बेपत्ता मध्ये ३ वटा शव घटनास्थलभन्दा दुई किमि तल खोटेमा देखिएको प्रजिअ जगतबहादुर बस्नेतले बताए ।

बाढीले बगाउदा मेहेलमुडी बिर्खबहादुर शाही, सवराज बम र सिप्खाना २ का सुरज शाही सक्त घाइते छन् । मेहेलमुडी, मुम्रा र मेहलमुडी गाविसलाई जाड्ने सान्नीगाड खोलामा बाढी आएको हो । बाढीले मेहेलमुडी ४ मा पर्ने डंखुल्या बजारका १० घर र सिप्खाना २ चोक्टे बजारका ७ घर बगाएको छ । त्यसैगरी, कालिकोटको सदरमुकाम मान्मसहितका गाविसमा विद्युत सेवा पुर्‍याएको सान्नीगाड साना जल विद्युत केन्द्रको विद्युत गृहको इन्टेक टंयाकी, ट्रान्समिटर, डेलिभरी मेसिन र १० वटा पोल पनि बगाएको छ ।

त्यस्तै, सान्नीगाड खोलाको एउटा झोलुंगे पुल र एउटा काठे पुल पनि बगाएको छ । पुल बगाउँदा मुम्रा, सिप्खाना र मेहेलमुडी गाविसका बासिन्दालाई आवतजावत गर्न पनि कठिनाई भएको स्थानीय प्रमोद न्यौपानेले बताए । बाढीले घर बगाएपछि १७ परिवार विस्थापित भएका छन् ।

त्यस्तै, सोमबार राती सिप्खाना ९ मा आएको पहिरोले घर भत्किदा स्थानीय दल सार्कीको मृत्यु भएको छ भने मुम्रा २ तिते छहडामा पहिरोले जान थालेपछि १० घरका ४३ जना विस्थापित भएका छन् । विस्थापितलाई पोतमारा विद्युत गृहको कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीमा आएको बाढीले कोटवाडा- ८ मा पर्ने लालीघाट बजारका १८ पसल र होटल बगाएको छ भने भर्ता ८ जीते बजार पनि जोखिममा परेका छन् ।

त्यस्तै अविरल वर्षाले सदरमुकाममा मान्म बजारको ५ घर पनि जोखिममा परेका छन् । कालिका ३ सेराका देवीप्रसाद भट्राईको हालै निर्माण भएको दुई तले पक्की घर पहिरोले भत्काएको छ । मान्म ६ का हरिचन्द्र आचार्य, सोही गाउका दत्तप्रसाद आचार्य, दाहा २ का देव चौलागाईं, पदमबहादुर मल्ललगायतका घर जोखिममा छन् । पानी पर्ने क्रम रोकिएको छैन । पहिरोको खतराले स्थानीय ईश्वर छापाखानाको सामान प्रहरीले नेपाली सेनाले सारेको छन् ।

सिरहाका एक्काइस गाविस बाढीको उच्च जोखिममा

नदीको छेउमा तटबन्ध नबनाएका कारण भारतीय सीमा नजिक रहेका सिरहाका २१ गाविस बाढीको उच्च जोखिममा परेका छन् ।

सिरहाका ४० वटा गाविस बाढीले बगाउने जोखिम क्षेत्रका रुपमा लिइएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले जनाएको छ । त्यसमध्ये सीमापारी लदनियादेखि दरहियासम्मको दुई किलोमिटरको तटबन्ध र कमला, मैनावती, गागन नदीमा भरपर्दो तटबन्ध नबनाइएकाले ती गाविस उच्च जोखिममा परेका छन् ।

नदीमा आउने बाढीले ती गाविस बगाउन सक्ने सम्भावना रहेको नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादवले बताउनुभयो । उनले भने, ‘ती गाविस नजिक रहेका नदीका धेरै स्थानमा तटबन्ध नभएकाले र भएका पनि ज्यादै कमजोर रहेकाले त्यहाँको अवस्था अत्यन्त गम्भीर छ ।’

उच्च जोखिममा पर्ने अन्य गाविसहरुमा औरही, माडर, लगडीगोठ, लगडी गढियानी, चिकना, बरियारपट्टी, सारस्वर, अर्नमा प्ररालगायतका छन् ।

बाढीबाट उच्च जोखिममा रहेका २१ गाविसका करिब १० हजारभन्दा बढी जनता प्रभावित हुनेछन् । -रासस

बाढीले बगाएर एकको मृत्यु, दुई बेपत्ता

रौतहटको लालबकैया खोलामा बर्षाका कारण आएको बाढीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्न गएका भषेडवा-३ का ३० बर्षीय जयनारायण ठाकुरको बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा काठ संकलन गर्न जादा बगाएर बेपत्ता ठाकुरको करुनिया गाविस स्थित बकैया नदिको किनारमा मृत अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । बिहान बगाएर बेपत्ता ठाकुरको शब अपरान्ह स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

यस्तै, बझाङमा लगातारको बर्षासँगै आएको बाढीमा परी बझाङमा २ युबक बेपत्ता भएका छन । बाढीमा परी लेकगाउा गाबिस ७ का २५ बषिर्य करण चलाउने र दौलिचौर १ का १८ बर्षीया शंकर बोहोरा बेपत्ता भएको प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए ।

लेकगाउँमा रहेको स्थानीय ठिमीगाँडमा आएको बाढीमा परी सोमबार बेलुका २५ बर्षीय चलाउने बेपत्ता भएका हुन भने दौलिचौरको स्थानीय खोलामा खोला तर्ने क्रममा मंगलबार बिहान बोहोरा बेपत्ता भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए  ।

बेपत्ता दुबै जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै अबिरल बर्षाका कारण सडकको ठाउँ ठाउँमा पहिरो जाँदा बझाङको यातायात सोमबार बेलुका देखि पूर्णतया अबरुद्ध भएको छ ।

– See more at: http://www.ekantipur.com/np/2070/3/4/full-story/370275.html#sthash.it3OFNzZ.dpuf

कमेन्टहरु
Loading...