कम्युनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक – देउवाले

मङ्गसिर १६ ,
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘संविधान सभाले लोकतान्त्रिक संविधान जारी गरेको उहाँ(कम्यूनिष्ट)हरुलाई चित्त नबुझेको रहेछ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले संविधानको ब्यवस्थालाई परिवर्तन गर्दै कम्युनिष्ट अधिनायकत्वका लागि बामगठबन्धन गरेका हुन् ।’

कम्युनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने प्रधानन्त्री देउवाले टिप्पणी गरे । ‘कम्युनिष्ट शासन राणाशासनभन्दा पनि भयानक हुन्छ । साँच्चिकै आइहाले जनताले फेरि अर्को संघर्ष गर्नुपर्ने हुन्छ,’ उनले भने । अर्को संघर्ष गर्न नपर्ने ब्यवस्था स्थापनाका लागि यसपटकको निर्वाचनमा कांग्रेस जित्नुपर्ने उनले बताए ।

नेपाली जनता सचेत र लोकतन्त्रप्रेमी रहेकाले अहिले लोकतन्त्रको जीत हुनेमा आफु बिश्वस्त रहेको उनले प्रष्ट्याए । ‘जनता लोकतन्त्र चाहन्छन् । बिगतका आन्दोलनले देखाइसक्यो,’ उनले भने, ‘त्यसैले लोकतन्त्रका लागि २००७ सालदेखि संघर्ष गरेको नेपाली कांग्रेसलाई जिताउनेमा म ढुक्क छु ।’ अब चुनावपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे ।

 

कमेन्टहरु
Loading...