७० वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड

ललितपुर, मंसिर १५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताउनुभयो ।

विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारी दिएर फर्काउने, पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिने तथा जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम अगाडि आउने धारणा राख्नुभयो ।

ललितपुर वामपन्थीको किल्लाका रुपमा विगतदेखि नै परिचित हुँदै आएको तथ्य पेश गर्दै उहाँले कहिलेकाहीँ भएको भूलचूकबाट पाठ सिकेर यसपटकको निर्वाचनमा सबै वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातालाई आग्रह गर्नुभयो ।

कमेन्टहरु
Loading...