एरिनामा घाईते तेक्वान्दो खेलाडीलाई सहयोग प्रदान

पोखरा, १ चैत/आमा छैनन् । बुवाको उमेर ढल्किसकेको छ । मजदुरी गर्दै छोरा र छोरीलाई बुवाले जेनतेन पाल्दै आएका थिए । अहिले ज्यालादारी काम समेत बुढेसकालले गर्दा बुवाले गरेका छैनन् । एउटा दिदी छिन् । क्याम्पस पढछिन् । आयस्रोत केही छैन् ।

आड भरोसाको केन्द्र छोरा एवं भाइ कृष्ण श्रेष्ठ यतिबेला बेडरेष्टमा छन् । तेक्वान्दो खेलाडी श्रेष्ठ गण्डकी प्रदेशस्तरीय छनोटमा काँधको सुन्दर हड्डी(ब्युटी बोन) भाँचिएको छ । स्वर्ण पदक प्रतिस्पर्धामा उनी किक हान्ने क्रममा लडेर घाईते हुन पुगे ।

तेक्वान्दो प्रतिस्पर्धामा उनले अंकले अग्रता लिएका थिए । तर दुर्भाग्य उनी घाईते हुदैं रिङआउट भए । रजतमा चित्त बुझए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने श्रेष्ठको सपना अधुरै रह्यो । काँधमा गम्भीर चोट लागेको उनी खेल क्षेत्रमा फर्किन भने लामै समय कुर्नुपर्ने छ । चिकित्सक सल्लाहले दुई महिना पूर्ण रुपमा बेड रेष्ट गर्नुपर्ने सुझाव दिएका छन् । उनलाई खेलमा फर्किन हुटहुटी भने उत्तिकै छ ।

उमेर बल्ल १६ वर्ष पुग्यो । फेवा पब्लिक स्कुलमा ९ कक्षामा अध्ययनरत छन् । चैतसँगै परीक्षाको समय नजिकिदै गएको छ । आराम गर्नुपर्ने बाध्यता छ भने अर्को तिर वार्षिक परीक्षाले पनि उनलाई सताएको छ । ‘वार्षिक परीक्षा आईसकेको छ । तर चिकित्सकले आराम गर्नुपर्ने सुझाव दिएका छन् ।’ श्रेष्ठले भने–‘केही रिकोभर भए परीक्षा दिन जान्छु ।’ मनभित्र भने छिटो तेक्वान्दोको गिई(तेक्वान्दो खेल्न लगाउने ड्रेस) एरिनामा फर्किने चाहना छ । आयस्रोत नभएकै कारण उपचारमाा समेत समस्या छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेल म्याग्दीमा आयोजना गरिएको थियो । छनोट प्रतिस्पर्धामा घाईते भएपछि उनलाई पोखराको कास्की मोडल हस्पिटलमा उपचारको लागि ल्याइएको थियो । एक्स रे गरियो । एक्स रेले काँधको ब्युटी बोन भाँचिएको रिपोर्ट आएपछि आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएको उनका प्रशिक्षक ललित धामीले सुनाए । ‘दुई महिना पूर्ण रुपमा आराम गर्नुपर्ने छ । नभए अप्रेशन गर्नुपर्ने चिकित्सकले बताएका छन् ।’ प्रशिक्षक धामीले भने–‘अप्रेशन भन्दा आराम गरेरै ठिक हुनुपर्छ । हामीले पनि त्यही भनिरहेका छौं । नत्र खेल खेल्ने चाहना अपुरो र अधुरै हुन्छ ।’

काँधको ब्युटीबोनसँग करङसम्म समस्या देखिएको थियो । तीन वर्ष अघिदेखि तेक्वान्दो खेल्न शुरु गरेका श्रेष्ठ कास्की जिल्लास्तरीय च्याम्पियन हुन् । ६३ केजी तौलको प्रतिस्पर्धामा उनी प्रदेशस्तरीय च्याम्पियन समेत हुन् । छोटो समयमै खेलप्रतिको लगाव र मेहनतले प्रतिफल प्राप्त गरेको भन्दै उनीमाथि तेक्वान्दो संघ कास्कीले आशा र भरोसा गर्दै आएको थियो । संघकै पहलमा म्याग्दीबाट उनलाई उपचारको लागि पोखरामा ल्याईएको थियो ।

‘एरिनामा घाईते भएको खेलाडीलाई संघले पोखरामा ल्याई उपचार गरेको छ । अब थप आर्थिक सहयोग भने राष्ट्रिय खेलकुद परिषदले उपचारको लागि थप सहयोग गर्नुपर्ने खाँचो छ ।’ प्रशिक्षक धामीले बताए । प्रदेशस्तरीय छनोट खेलमा घाईते भएका उनलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले नगद ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । उनले व्यक्तिगत रुपमा नगद सहयोग गर्दै खेलाडी श्रेष्ठलाई शौच गर्न सहज होस भन्ने उद्देश्यले बसेर शौच गर्ने कुर्ची समेत प्रदान गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठ घाईते खेलाडी कृष्ण श्रेष्ठलाई शौच गर्न सहजतको लागि कमड कुर्ची हस्तान्तरण गर्दै ।

कमेन्टहरु
Loading...