अखण्ड नेपाल नाममा दल दर्ता, कुमार खड्का अध्यक्ष

पोखरा, ९ जेठ/आगामी संविधान सभा निर्वाचन सहभागीता जनाउन निर्वाचन आयोगले खुल्ला गरेको दल दर्ता अभियान जारी रहेको छ । पछिल्लो समयमा, विभिन्न जातिय समाजले पनि दल दर्तालाई तिव्रता दिइरहेकै बेला जातिय राज्यको विरुद्धमा रहेको क्षेत्री समाज नेपालले पनि अखण्ड नेपाल नाममा पार्टि दर्ता गराएको छ । क्षेत्री समाजका महासचिव कुमार खड्काको नेतृत्वमा गएको टोलीले आयोगले जारी गरेको नियमावली सहित पार्टी दर्ता गरेको समाजका कास्की अध्यक्ष पदम बहादुर कार्कीले जानकारी दिए ।

महासचिव खड्काकै अध्यक्षतामा दर्ता गराइएको हो । नव गठित दलको महासचिवमा नन्द बहादुर सिंह, कोषाध्यक्षमा केश बहादुर के.सी रहेका छन् । ६ जना उपाध्यक्षमा उदय बहादुर बस्नेत, मान बहादुर के.सी, कृष्ण बहादुर थापा, रोगन गुरुङ, दयाराम पाण्डे र पुष्पा के.सी भण्डारी रहेका छन् । त्यस्तै सचिवमा उत्तम बस्नेत, रामचन्द्र शाही, लक्ष्मण थापा सहितका ५ जना रहेका छन् ।

राष्ट्रिय अखण्डताको मुद्धा सहित आगामी निर्वाचनमा पार्टीले सहभागीता जनाउने अध्यक्ष खड्काले बताए । दल दर्तासँगै ७५ वटै जिल्लामा पार्टी गठन तथा चुनावी अभियानलाई तिव्र पारिने पार्टी श्रोतले जनाएको छ । आयोगमा हालसम्म चुनावी प्रायोनका लागि ३७ वटा दल दर्ता भईसकेका छन् ।

कमेन्टहरु
Loading...