ओखलढुङ्गामा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

ओखलढुङा, १९ जेठ/ओखलढुङ्गाको फुलबारी गाविसमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइते रहेको पूर्वक्षेत्रीय प्रहरीले जनएको छ।

अपराह्न ४ बजे तिर ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविग ५ मा सडकबाट खसेको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा ट्याक्टरमा सवार खोटाङ च्यास्मिटार ५ का ३५ वर्षीय हिराबहादुर राई, ओखलढुङ्गा बिलन्दु गाविस ५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउँ बस्ने १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस बस्ने १४ वर्षीय मनिष खड्का छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी फुलबारी ४ का २० वर्षीय सह चालक प्रेम थापा गम्भीर घाइते छन्। उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगेको छ। ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। ट्याक्टरका चालक फरार भएकाले खोजी भइरहेको पूर्वक्षेत्रीय प्रहरीले जनाएको छ।

कमेन्टहरु
Loading...