मानवअधिकार रक्षकको अधिकार र दायित्व विषयक अन्तरक्रिया सम्पन्न

पोखरा, २५ मंसिर/ अन्तर्राष्ट्रिय मानवअधिकार रक्षक दिवसको सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र मानवअधिकार शिक्षा क्लवको आयोजनामा सोमबार पोखरामा मानवअधिकार रक्षकको अधिकार र दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा मानवअधिकार रक्षकहरु सम्बन्धी मार्ग निर्देशिका बारेमा सहजीकरण गर्दै राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय निमित्त निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकारको सम्बद्र्धन, संरक्षण, सम्मान र पालनाप्रति राज्यलाई जिम्मेवारी बनाउन मानवअधिकार रक्षकहरुले सवल, उत्तरदायी र पारदर्शी ढंगले अनुगमन गर्नु पर्ने बताए । उनले मानवअधिकार रक्षकहरुमा क्रियाशीलता, इमान्दारीता, व्यवसायगत प्रतिवद्धता, धैर्यता, सहनशीलता, मानवअधिकारको अधिकतम सम्मान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मानवअधिकार रक्षकहरुले मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यलाई एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले मानवअधिकार उल्लंघनका घटनालाई अनुगमन गर्दा जोखिमपूर्ण स्थितिलाई ध्यानमा राखेर होशियारी अपनाउनु पर्ने बताए । शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले मानवअधिकार रक्षकहरुले संयमित, निष्पक्ष र सजक भएर काम गर्नु पर्ने बताए ।

महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष नन्दकला नेपालीले महिला हिंसा न्यूनीकरणको लागि सचेतनाको खाँचो रहेको भन्दै महिलाहिंसा विरुद्धको १६ दिने अभियान उपलव्धीमूलक भएको बताईन् । कार्यक्रममा स्थानीय शान्ति समितिका सचिवालय सदस्य खगराज आचार्य, सञ्चारिका समूह पश्चिमाञ्चल संयोजक बसन्ती वास्तोला, दलित अधिकारकर्मी चमेली परियार, अपाङ्ग स्वालम्बन विकास संघका गिरीधारी सुवेदी, अल्टरनेटिभ नेपालका समुन्द्र पौडेल, मानवअधिकार शिक्षा क्लव रिलेकका उपाध्यक्ष तुलसी दाहाल लगायतले मानव अधिकारको रक्षा गर्न सरकार अगाडी बढनु पर्ने बताए ।

कमेन्टहरु
Loading...