लोकगायक तथा संस्कृतिकर्मी थापाको निधन

पोखरा, १५ असार/लोकगायक तथा संस्कृतिकर्मी टोलबहादुर थापामगरको ८१ वर्षको उमेरमा निधन भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारका क्रममा लोकगायक थापाको आइतबार निधन भएको हो ।

लोकगायक थापा विगत दुई वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । स्याङ्जाको पुतलीबजार नगरपालिका–७, (साबिक ठूलाडिही गाविस वडा नं. ७, साँदीखोला)मा जन्मनुभएका लोकगायक थापा परिवारसहित हाल, पोखरा महानगरपालिका वडा नं. १५, सानो मझुवा बस्दै आउनुभएको थियो ।

स्व. थापाले सोरठी लोकनृत्यसम्बन्धी एक पुस्तक समेत प्रकाशन गर्नुभएको छ । त्यस्तै, सोरठी, घाँटु, सुनिमाया र झ्याङा भाकाको गीत समेत रेकर्ड गराइसक्नुभएको छ भने मगर भाषामा समेत केही गीतहरू रेकर्ड गराउनुभएको छ । स्व. थापा मगर संस्कृतिको ज्ञाता समेत हुनुहुन्थ्यो ।

राजनीतिमा समेत सक्रिय रहनुभएका स्व. थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीयस्तरमा चर्चित नेता हुनुहुन्थ्यो । त्यस्तै, सामाजिक आन्दोलनमा समेत उत्तिकै सक्रिय स्व. थापा नेपाल मगर संघ कास्की तथा रामबजार एकाइ समितिको समेत संस्कृति विभाग प्रमुख भएर काम गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...