श्रीमानको मृत्यु ब्रेकिङ न्युजमा पढेकी कौरले भनिन्–उनैले मलाई हाँस्न सिकाउँथे

रायपुर, ३१ चैत /गत शनिबार भारतको छत्तिसगढको एक टेलिभिजन च्यानलकी समाचार वाचिका सुप्रित कौरको जिन्दगीमा नसोचेको घटना भयो। उनले समाचार पढिरहँदा सडक दुर्घटनाको खबर आयो।

उनले सो खबर ब्रेकिङ न्युजमा पढिन्। जब उनले स्थानीय संवाददातासँग प्रत्यक्ष कुराकानी गरिन् उनलाई थाहा भयो दुर्घटनामा परेको गाडीमा उनका श्रीमान् पनि सवार थिए। श्रीमानको मृत्यु भएको थाहा पाउँदापाउँदै पनि कौरले आफ्नो काममा केही फरक पर्न दिइनन्। उनले केही नभएजस्तो गरी समाचार पढिन् र स्टुडियोबाट बाहिर निस्किइन्।

अर्कोदिनदेखि उनी आफैं समाचार बनिन्। विश्वभरबाट मानिसहरुले उनलाई बहादुर र पेशाप्रतिको निष्ठा पुरा गरेकोमा तारिफ गरे। अहिले कौर रायपुरदेखि ३५ किलोमिटर टाढा रहेको श्रीमान्को घरमा बसेकी छन्।

अनुहारमा उदासी छ, आँखामा भावहीनता। ‘जब उनी ९श्रीमान्० सोध्थे, कहाँ छौैरु म जवाफ दिन्थें– टिभी हेर न थाहा भइहाल्छ’, कौरले हिन्दुस्तान टाइम्ससँग भनिन्, ‘उनी मेरो जीवन थिए र मलाई हाँस्न सिकाउँथे। जहिल्यै मेरो पत्रकारिता पेशाको प्रशंसा गर्थे।’

चार वर्षअघि कौरका बुवा पनि सडक दुर्घटनामा मारिएका थिए। यसअघि केही समाचारमा कौरकी छोरी पनि भएको खबर आएको भएपनि परिवारका सदस्यले उनीहरुको कुनै सन्तान नभएको बताएका छन्।

घटनापछि कौर काम गर्ने आइबिसी –२४ न्युजका सम्पादकले आफूहरुलाई कौरप्रति गर्व महशुस हुने उल्लेख गर्दै च्यानलले उनलाई हरसमयमा साथ दिने बताएका छन्। कौरले घटनापछि विश्वभरिबाट आफूप्रति देखाएको सहानुभूतिका लागि धन्यावाद ज्ञापन गरेकी छन्।

कमेन्टहरु
Loading...