काँग्रेस अगुवा नेता त्रिपाठीको निधन

पोखरा, १ जेठ / नेपाली काँग्रेस कास्कीका अगुवा नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।  उनले २०१७ सालमा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका थिए । २०२८ सालमा तत्कालिन कालिका गाविसको प्रधानपञ्च भएका थिए ।

साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका त्रिपाठीले लामो समय पार्टीको विकास र विस्तारमा योगदान गरेका छन् । राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा पनि उनको उल्लेख्य योगदान रहेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए । उनले समाजमा निष्ठावान र त्यागि व्यक्तिको पहिचान बनाएका थिए ।

उनका तीन छोरा र तीन छोरी छन् । किर्तिवल्लभ त्रिपाठी, विष्णुप्रसाद त्रिपाठी र शिवप्रसाद त्रिपाठी तीन छोरामध्य किर्तिवल्लभ पर्यटन क्षेत्रसँग आवद्व छन् । सामाजिक क्षेत्रमा लामो समय योगदान पु¥याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्वन्धित पुस्तक प्रकाशित गर्ने तयारी भएपनि लकडाउनका लागि स्थगित भएको थियो ।

पछि कुनै कार्यक्रम गरी पुस्तक विमोचन गरिने कालिका गाविसका पूर्व सभापति भानु ढकालले बताए । स्व. त्रिपाठीको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व सभापति यज्ञबहादुर थापा, क्षेत्रीय सभापति बृजमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, व्यवसायी, सामाजिक कार्यकर्ता र आफन्तको सहभागिता थियो । यसैबीच, नेपाली काँग्रेस कास्कीले अगुवा नेता राजेन्द्रप्रसाद त्रिपाठी र सार्दीखोलाका क्रियाशील सदस्य प्रेमबहादुर तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

तामाङ २०४९ सालको स्थानीय निर्वाचनमा साविक सार्दीखोला गाविस वडा नं ५ मा वडाध्यक्ष निर्वाचित भएका थिए । कास्की काँग्रेसले त्रिपाठी र तामाङको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

 

कमेन्टहरु
Loading...