महेश्वर पहारीको नवौं स्मृति सभा

पोखरा, १८ असोज /एकीकृत नेकपा माओवादी, कास्की क्षेत्र न.२ को आयोजनामा सहिद पत्रकार महेश्वर पहारीको नवौं स्मृति सभा पोखरामा सम्पन्न भएको छ । स्मृति सभामा बोल्दै एमाओवादीका केन्द्रीय सदस्य एवं तमुवान संयोजक हरि अधिकारी (कुमार) ले सहिद वेपत्ता परिवारको सपनालाई पार्टीले भुल्यो भन्नु सहि नहुने बताउनुभयो । ‘लड्ने तरिका मात्रै बदलेका हौ, उद्देश्य बदलेका छैनौं’–उहाँले भन्नुभयो । नेता कुमारले परिवर्तनको एजेण्डा भएको पार्टी एमाओवादी मात्रै भएकोले संविधान सभामो विजय सुनिश्चित भएको दावी गर्नुभयो । संविधान सभाको निर्वाचनमा कास्कीको चारवटै क्षेत्रमा एमाओवादीलाई विजयी गराउन सके सहिद तथा वेपत्ताको सपना पुरा गर्न एक कदम अगाडि बढिने उहाँको धारणा थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश पोखरेल, केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक झलकपाणि तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, वेपत्ता परिवार समाज, कास्कीका अध्यक्ष अर्णनाथ बराल, सहिद पत्नि दुर्गा पहारीले बोल्नुभएको थियो । सहिदका दाई नारायण पहारीले सहिद महेश्वर पहारीको जीवनी वाचन गर्नुभएको थियो । २०३१ चैत ११ गते जन्मनुभएका पहारीले २०६२ असोज १८ गते सहादत प्राप्त गर्नुभएको थियो । स्वाभिमान राष्ट्रिय दैनिकमा कार्यरत रहँदा उहाँलाई प्रहरीले पक्राउ गरी जिल्ला कारागारमा राखेका बेला विरामी परेपछि उपचारमा ढिलाई हुँदा उहाँको निधन भएको हो ।

कमेन्टहरु
Loading...