स्याङ्जा अस्पतालमा टेलिमेडीसिन शुरु

स्याङ्जा, १० पुस/ जिल्ला अस्पताल स्याङ्जामा अस्पताल व्यवस्थापन समितिको व्यवस्थापकीय पहलमा टेलिमेडीसिन कार्यक्रम शुरु गरेको छ ।

जिल्ला अस्पतालबाट इन्टरनेटको माध्यमबाट भिडियो कल गरी स्वास्थ्यकर्मीले जटिल किसिसका विरामीका समस्या अन्यत्र कार्यरत विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर विरामीका उपचार गर्ने छ ।

नेपालको स्वास्थ्य नीति २०७६ को ई हेल्थ सेवाको एक आयाम मध्ये एक भएको अस्पताल प्रमुख डा सुशील कुमार मरासिनीले बताए ।

चिकित्साका विविध विषयका विशेषज्ञसंग सम्झौता गर्दै लगिने कार्यक्रम अन्तर्गत पहिलो पटक पुतलीबजार – ३ स्याङ्जा जन्मस्थान भै हाल अमेरिकाको टेक्सासमा कार्यरत बालरोग विशेषज्ञ डा रामहरी शर्मासंग अस्पतालमा निःशुल्क सेवा प्रदान गर्ने शर्तमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख सीमा कुमारी क्षेत्रीले आफ्नो स्वास्थ्य समस्या भिडियो कल मार्फत चिकित्सकसंग राख्ने र विशेषज्ञ चिकित्सकले परामर्श गरेर शुभारम्भ गरिन् । अस्पतालका एमडीजीपी कन्सल्टेन्ट डा नारायण बहादुर गोदारले यस्ता सम्झौतालाई थप र नियमित गर्दै लगिने जानकारी दिए ।

कार्यक्रमका सहजकर्ता बालरोग विशेषज्ञ डा रामहरी शर्माले आफुले आफ्नै जन्मस्थानमा निःशुल्क टेलिमेडिसिन सेवा दिन पाउँदा खुशी लागेको बताए । नगरपालिकाका उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर मल्ल, अस्पताल व्यवस्थापन समिति सदस्य लोकराज शर्मा, निवर्तमान अध्यक्ष दीर्घनारायण शर्मा, स्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त कार्यालय प्रमुख अमृतकुमार श्रेष्ठ, उपभोक्ता मंच स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, लायन्स क्लब अफ स्याङ्जाका रामचन्द्र पोख्रेल, लायन्स क्लब अफ पुतलीबजारका श्रीबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ, स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, स्थानीय थम नारायण उपाध्याय लगायतले सेवा शुरु भएकोमा खुसि व्यक्त गरेका थिए ।

अस्पतालका चिकित्सा तथ्यांक सुपरिवेक्षक बुद्धिसागर अधिकारीले अस्पतालले सो सेवा विस्तारका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संयोजक रहने र अस्पताल प्रमुख तथा चिकित्सा तथ्यांक सुपरिवेक्षक सदस्य रहने गरी एक समिति गठन समेत भएको जानकारी दिए ।

कमेन्टहरु
Loading...