चिकित्सक दरबन्दी र संरचनागत सुधार आवश्यक–चिकित्सक संघ

पोखरा, १६ फागुन/स्वास्थ्य क्षेत्र सुधारको लागि चिकित्कहरुले उठाएका मुद्धालाई कार्यान्वयन गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष आग्रह गरेका छन् । स्वास्थ्य क्षेत्र गरिमामय र संवेदनशिल भएको उल्लेख गर्दै संघले मुद्धाहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल सरकारले अंगिकार गरेको स्वास्थ्य नीतिलाई समानुकुल आत्मसात गर्दै संघले उठाएका मुद्धाहरुलाई पनि कार्यान्वयन गर्ने तर्फ ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् । संघीय संरचनामा गईसकेको अवस्थामा स्वास्थ्य सेवाको पहुँच ग्रामीण तहसम्म पुर्याउन दरबन्दीको समस्या समाधान गर्नुपर्ने एवं संरचनागतमा सुधार गर्नुपर्ने स्पष्ट पारेका छन् ।

पोखरामा ३२ वर्षपछि शुरु भएको नेपाल चिकित्सक संघको २८ औं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै संघका निर्वतमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रको पहुँच बढाउन संरचनागत विकास गर्नुपर्नेमा जोड दिए ।

‘स्वास्थ्य क्षेत्र संवेदनशिल र गरिमाको क्षेत्र हो । बनाउनु पर्ने स्वास्थ्य संरचनालाई समेत सुधार गर्नुपर्ने खाँचो छ । बढ्दो चिकित्सा दरबन्दीको समस्यालाई समाधान गर्नुपर्छ ।’ उनको भनाई थियो । उनले पोखरामा आयोजित २८ औं राष्ट्रिय सम्मेलनले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतिलाई समाधान गर्दै आधुनिक चिकित्सका पद्धतिलाई अनुसरण गर्ने तर्फ ध्यान केन्द्रीत हुने विश्वास व्यक्त गरे । सम्मेलनले स्वास्थ्य क्षेत्रमा नयाँ मार्ग चित्र कोर्नेमा आफु विश्वस्त रहेको सुनाए ।

उनले संक्रमणकालिन अवस्थामा चिकित्सकले भोग्नुपनेको समस्या अहिले डर त्रास र धम्की खेप्नुपर्ने बाध्यता अझै रहेको जिकिर गरे । संघका बिहीबार मात्रै अध्यक्षको जिम्मेवारी सम्हालेका डा. लोचन कार्कीले संघले उठाएको मुद्धालाई पृथक शैलीबाट सोच्नुपर्नेमा ध्यानाकर्षण गराए । ‘स्वास्थ्य क्षेत्रलाई पृथक शैलीबाट सोच्न जरुरी छ’ उनले भने–‘उठाएका मुद्धालाई कार्यान्वयन गर्नुपर्ने संघ समक्ष उत्तिकै चुनौति छ ।’

वि.स ं २००७ सालमा स्थापित नेपाल चिकित्सक संघ केवल २५ भन्दा कम संख्याका चिकित्सकबाट स्थापित गरिएको हो । ७० वर्षको इतिहासमा आईपुग्दा संघमा २५ हजार भन्दा बढी चिकित्कहरु आवद्ध छन् । सम्मेलनको मुख्य उद्देश्य ‘संघीय गणतन्त्र नेपालमा स्वास्थ्य प्रणालीमा देखिएको अवसर र चुनौति’मा छलफल गरिने छ । सम्मेलनमा देशभरबाट ५ सय भन्दा बढी चिकित्सकहरु पोखरामा भेला भएका छन् । सम्मेलनबाट निस्किएको निष्कर्ष एवं पोखरा घोषणा पत्रलाई सरकार समक्ष पेश गरिने छ ।

पहिलो दिनको छलफलमा स्वास्थ्य तथा राजनीति सम्बन्धी छलफल भएको थियो । छलफलमा डा.के.के राईले आफनो प्रस्तुती दिएका थिए । पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, नेपाल मेडिकल एशोसियनका प्रा.डा. अर्जुन कार्की लगायत चिकित्सकहरुको टोलीले फरक फरक समूहमा रहेर समूहगत रुपमा छलफल गरेका थिए।

३२ वर्षपछि आयोजित चिकित्सकहरुको सम्मेलन पोखरामा तीनदिनसम्म हुने छ । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ एवं विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको छ । उपचारमा आधुनिक उपकरणको प्रयोग, औषधी लगायत विभिन्न सेवा सुविधाको बारेमा छलफल गरिने छ । प्राप्त स्रोत र साधनको भरमा विरामीको स्वास्थ्योपचार गर्नुपर्ने विद्यमान परिस्थितिको बारेमा समेत छलफलको विषय केन्द्रीत गरिएको छ ।

शहरी क्षेत्रमा भन्दा ग्रामीण तहमा स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको अवस्थामा भएका स्वास्थ्यचौकीलाई प्रभावकारी बनाउने विषयमा चिकित्सकहरुको छलफल केन्द्रीत रहेको नेपाल चिकित्सक संघ गण्डकी शाखाका उपाध्यक्ष एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल )का दन्तरोग विशेषज्ञ डा. सुनिल पनेरुले बताए ।

गण्डकी शाखाको आयोजनामा देशभरका चिकित्सकहरु तीनसम्म बसेर ठोस निष्कर्षसहित पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन टुंगिने छ । विभिन्न विशेषज्ञ टोलीले स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धानलाई कार्यपत्र मार्फत प्रस्तुत गरिने छ । स्वास्थ्य क्षेत्रमा देखिदैं गएको चुनौतिलाई निराकरण गर्ने तर्फ नयाँ प्रविधिको प्रयोग र औषधीको उत्पादनलाई समेत ध्यानमा राखेर छलफल गर्दै निष्कर्षमा पुगिने उनले बताए ।

अहिले चीनमा देखिएको कोरोना भाईरसको संक्रमणले आहत बनाईरहेको छ । स्वास्थ्य क्षेत्रले गर्नुपर्ने कार्य र अपनाउनु पर्ने सावधानी तथा संक्रमण न्युनिकरण गर्ने तर्फ नेपाल चिकित्सक संघ सजग र सचेत रहेको उनको भनाई थियो ।

विकासोन्मुख मुलुकमा स्वास्थ्य क्षेत्रमा चुनौति उत्तिकै रहेको छ । पर्याप्त स्रोत र साधनको अभाव छ । आधुनिक स्वास्थ्य उपकरणको अभाव छ । त्यही अभावमै विरामीको स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकीलाई प्रभावकारी बनाउन ध्यानदिनुपर्ने अहिलेको मुख्य चुनौति रहेको छ ।

स्थानीयस्तरमा भएका स्वास्थ्य चौकीलाई प्रभावकारी बनाउन दक्षजनशक्ति, औषधीको पहुँच पुग्न सकेको छैन् । त्यसलाई पनि सम्मेलनमा छलफलको विषयको रुपमा उठान गरिएको छ । सम्मेलनको उदघाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...